धनगढी पोष्ट
शुक्रबार, १७ कार्तिक २०८० मा प्रकाशित
धनगढी । गोदावरी नगरपालिका वडा नम्बर १२ कोलमुडामा दुर्गा माविको भवन निर्माण भैरहेको छ । भवन निर्माणका लागि जग खन्ने कामका लागि श्रमदान गर्न स्थानीय वासिन्दाहरु बिहान आठ बजे नै पुगिसक्छन् । श्रमदान गर्न स्थानीय वासिन्दसँगै केही बिदेशीहरु समयमै पुगिसक्छन् ।
आफ्नै गाउँमा बिदेशीले मेहनतपुर्वक श्रमदान गरेको देखेर बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिब बहादुर कामी दंग छन् ।
“उनीहरु ठीक समयमा आउने, तोकिएको अवधिसम्म लगातार काम गर्दछन् ।” कामीले भने “उनीहरु लगातार यति काम गर्न सक्छन् भन्ने कल्पना नै मैले गरेको थिएन, तर उनीहरु हाम्रो भन्दा बढी काम गरिरहेका छन् ।” बिदेशीहरुको काम गराईले कामप्रतिको लगनशीलता र इमानदारिता सिकाएको कामी बताउँछन् ।
स्थानीय वासिन्दा र बिदेशीहरुले दैनिक चार घण्टा (बिहान ८ देखि १२ बजेसम्म) श्रमदान गरिरहेका छन् ।
बिल्डअन नेपाल र गोदावरी नगरपालिकाको साझेदारीमा दुर्गा माविमा तीन कोठे पक्की भवन र दुई शौचालय निर्माण भैरहेको छ । भवन निर्माणको शुरुका चार दिन बिल्डअनका दुई जना र भवन निर्माणका लागि रकम दिने ९ जना दाता गरि ११ जना श्रमदान गरिरहेका छन् । सहयोग दाताहरु अमेरिकाको पीसी कम्पानीमा कार्यरत छन् । भवन निर्माणका लागि बिहान आठदेखि १२ बजेसम्म बिदेशीसँग स्थानीय वासिन्दाले श्रमदान गरिरहेका छन् ।
भवन निर्माणका लागि श्रमदान गरिरहेकी केली साञ्चेज गुणस्तरिय शिक्षाले बिकास सम्भव हुने भएकोले बिद्यालय भवन निर्माणमा आफुहरुले बिल्डअन मार्फत सहयोग गरेका बताउँछिन् । “गुणस्तरिय शिक्षा पाएका कारण नै हाम्रो जीवनस्तर राम्रो भएको हो । सान्चेत भन्छिन् “त्यसैले सबै समुदाय एक मानव हौं, शिक्षाको असमानताले फरक ल्याएको हो भन्ने बुझाउन पनि श्रमदान गरेका हौं ।”
सान्चेज पीसी कम्पनीका कर्मचारीहरुले सेनेगल र निकारागुवाका बिद्यालयमा पनि भवन निर्माणका लागि सहयोग गरेको र अमेरिकाकै क्यालिफोर्नियाका कम आय व्यक्तिहरुको लागि सहयोग गरेको बताउँछन् ।
सहयोगदाताहरु शुक्रवारसम्म भवन निर्माणमा श्रमदान गर्नेछन् । बिदेशीसँग हरेक दिन १ शय २५ जना स्थानीय वासिन्दाले पनि श्रमदान गरिरहेको अध्यक्ष कामी बताउँछन् ।
श्रमदान गरिसकेपछि उनीहरु स्थानीय समुदायका कला, संस्कृति, काम र सीपको निरीक्षण गर्ने र सिक्ने गर्दछन् । बिदेशीहरु मैले माछा मारेको हेर्न, आरनमा फलामका आसी बन्चरो बनाएको पनि हेर्न गए । कामी भन्छन् स्थानीय समुदायसँग रहनसहन, कला सँस्कृति र बिहवारीका बारेमा पनि उनीहरुले छलफल गरेका छन् ।
बिल्डअनको ३० लाख र गोदावरी नगरपालिकाको १२ लाखको साझेदारीमा बिद्यालय भवन निर्माण गर्न लागिएको हो । भवनमा तीन कोठा रहनेछन् भने बिद्यार्थीहरुका लागि दुई शौचालय पनि निर्माण गरिनेछन् । भवन निर्माणमा लाग्ने श्रमदान स्थानीय वासिन्दाले गर्नुपर्ने हुन्छ ।
बिद्यालय भवन १ शय ६ दिनमा सक्ने लक्ष्य लिइएको छ । बिल्डअन नेपालकी निर्देशक निर्मला चौधरीले भनिन् “भवन भुकम्प प्रतिरोधी र बिद्यार्थीमैत्री रहने छ ।” बिल्डअनले यसअघि पनि उक्त बिद्यालयमा तीन कोठे भवन बनाएको थियो । बिद्यालयको लागि थप भवनको आवश्यकता रहेकोेले भवन निर्माण गर्न लागिएको निर्देशक चौधरीले बताइन् ।
निर्देशक चौधरीका अनुसार भवन निर्माणका लागि आवश्यक दक्ष मिस्त्री, निर्माण सामाग्री (इटा, सरिया, सिमेन्ट, किला काटा, मिक्चर मेशीन, झ्याल, ढोका ) बिल्डअनले उपलव्ध गराउनेछ । नगरपालिकाको रकमबाट ढुँगा, गिटी, बालुवाको व्यवस्था गरिनेछ । ढोकाको लागि काठ समुदायले उपलव्ध गराउनु पर्नेछ । स्थानीय उपभोक्ताले श्रमदान गरेमा बाकी रहेको रकमबाट थप काम गर्न सकिनेछ । भवन निर्माण बिल्ड अनका प्राविधिकको निर्देशन र अनुगमनमा तालिमप्राप्त मिस्त्रीले गर्नेछन् ।
बिल्डअनले हालसम्म ३ शय ८२ बिद्यालय भवनहरु निर्माण गरिसकेको छ । निर्देशक चौधरीका अनुसार गोदावरीमा हाल निर्माण भैरहेको २७ औं भवन हो भने कैलाली जिल्लामा १ शय ८९ औं भवन हो ।