धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

डाेटीमा जीप दुर्घटना, ४ जनाको मृत्यु

डाेटीमा जीप दुर्घटना, ४ जनाको  मृत्यु
फाईल तस्बिर

धनगढी । डोटीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । आईतबमर बिहान साढे २ बजे धनगढीबाट  बाजुरा जाँदै गरेको ग २ च म२७७६ नम्बरको बोलेरो गाडी डोटीको शिखर नगरपालिका - ६ अण्यौलस्थित केआई सिंह राजमार्गमा दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी विष्णुहरी कोइरालाका अनुसार उक्त गाडी अनियन्त्रित भई सडकबाट अन्दाजी ५०/६० मिटर तल खसेको हो ।
दुर्घटनामा परी बाजुराको हिमाली गाउँपालिका-५ की २२ वर्षीया राधिका मलाल, सोही स्थानकी ३२ वर्षीया धनशोभा बुढा, धनशोभाकी ६ वर्षीय छोरा  कबिन्द्र बुढा र बिमला मलालकी ८ महिनाकी छोरी प्रार्थना मल्लको मृत्यु भएको एसपी कोइरालाले जानकारी दिए ।
बिमला मलाल गम्भीर घाइते छिन् । उनीसँगै थप पाँच जना घाइते भएको एसपी कोइरालाले जानकारी दिए । घाइतेहरूमा हिमाली गाउँपालिका-५ बस्ने ३० वर्षीय प्रकाश बुढा थापा, २३ वर्षीय खोम बहादुर मलाल, २४ वर्षीय दान बहादुर बुढा र २१ वर्षीय राजबहादुर मलाल छन् ।

उनीहरूको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भइरहेको एसपी कोइरालाले जानकारी दिए । गाडीका चालक बाजुराको गौमुल गाउँपालिका-४ काडाकोटका २९ ‍वर्षीय महेश बुढालाई नियन्त्रणमा लिएर दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।