धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

‘नमस्ते मेयर एप’ मा ४३० गुनासा

‘नमस्ते मेयर एप’ मा ४३० गुनासा

कैलाली– धनगढी उपमहानगरले ‘नमस्ते मेयर एप’ सञ्चालनमा ल्याएपछि जनगुनासो आउनेक्रम बढेको छ । उपमहानगरले २०८० वैशाख महिनादेखि नगरवासीका गुनासो लिने र सम्बोधन गर्न सुरु गरेको हो ।
प्राप्त गुनासाका सम्बोधन गर्न यस्तो प्रविधियुक्त एप सञ्चालनमा ल्याइएको उपमहानगरको भनाइ छ । धनगढीको विकासमा जनसहभागिता बढाउन, उपमहानगरले गरेका प्रत्येक काममा नगरवासीको ध्यान केन्द्रित गराउन, कमीकमजोरी सच्याउन तथा ‘हाम्रो धनगढी हामी बनाउँछौँ’ अभियानलाई सार्थक पार्न अनलाइनबाटै गुनासो दर्ता गराउन सकिने दर्ता फारमको समेत व्यवस्था छ ।
नमस्ते मेयर एप अन्तर्गत विभिन्न १० विषयमा गुनासा दर्ता भएका छन् । ध्वनि प्रदर्शनी अन्तर्गत १, वातावरण २१, शिक्षा १५, शिक्षासँग सम्बन्धित १५, सार्वजनिक यातायात चार, खानेपानीसँग सम्बन्धित ९, सार्वजनिक सम्पत्ति १, विद्युत १३ तथा सबैभन्दा बढी सडकसँग सम्बन्धित ४६ गुनासा दर्ता भएका छन् ।
वैशाखदेखि मङ्सिर १२ गतेसम्म नमस्ते मेयरमार्फत कुल चारसय ३० गुनासा दर्ता भएकोमा एकसय ९६ गुनासाको सम्बोधन भएको बताइएको छ । एकसय ६८ गुनासाहरू समाधानको प्रक्रियामा रहेको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरले प्राप्त गुनासाको विश्लेषण गरी अधिकांश गुनासाको तुरुन्तै समाधान गर्ने काम गर्दैआएको जनाएको छ ।
अवार्ड नेपालद्वारा सञ्चालित जवाफ देहीता परियोजनाले मंगलबार धनगढीमा आयोजित  कार्यक्रममा धनगढीका उप महानगरपालिकाका सिनियर परामर्श दाता प्रतिक जोशीले नागरिक मार्फत जनप्रतिनिधि र कर्मचारीलाई जवाफ देही बनाउन एप सञ्चालनमा ल्याइएको बताए । विद्यार्थी तथा नागरिक अगुवा सहभागि कार्यक्रममा उनले एप मार्फत  गुनासो दर्ता गर्ने प्रक्रियाका बारेमा पनि जानकारी गराएका थिए । त्यसैगरी सुदूरपश्चिम प्रदेश सरकार मुख्यमन्त्री कार्यालयले सञ्चालन गरेको एपका बारेमा विरेन्द्र खड्काले जानकारी गराएका थिए । 
यूएन डिपिको आर्थिक सहयोगमा सञ्चालित जवाफ देही कार्यक्रमले भ्रष्ट्राचार अन्त्य गर्न र सुशासन कायम गर्न नागरिक एपलाई प्रभावकारी बनाउने काम गर्दै आएको अवार्ड नेपालका अध्यक्ष जयबहादुर बिश्वकर्माले बताए । 
नेपाल भ्रष्ट्राचारमा एक सय १० औं स्थानमा रहेको अवस्थामा सरकारलेनै नागरिक एप सञ्चालन गरी नागरिकका गुनासा सुन्ने र भ्रष्ट्राचार अन्त्यका लागि काम गर्दै आइरहेको अवार्ड नेपालका अध्यक्ष विश्वकर्माले बताए । अवार्ड नेपालले सरकारले गुनासा सुन्न निर्माण गरिएका एपका बारेमा नागरिकलाई जानकारी दिनेकाम गर्दै आएको उनले बताए ।