धनगढी पोष्ट
शुक्रबार, १५ मङि्सर २०८० मा प्रकाशित
धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार प्रचण्ड पथमा जान खोजेको आरोप लगाएका छन् ।
सरकार प्रचण्डपथमा जान खोज्दा नेपाली कांग्रेस त्यसको संरक्षक बनेको अध्यक्ष ओलीको आरोप छ । नेकपा एमालले सुरु गरेको झुलाघाट, चिवाभन्ज्याङ यात्राको दोश्रोदिन बिहीबार डडेल्धुरामा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘नेपाली कांग्रेस अहिले प्रचण्डपथको भरिया बनेको देखिन्छ ।’
उनले भने, ‘कांग्रेस प्रचण्डपथको भरिया बनेको छ । आफ्नै मान्छेलाई मुद्दा लगाएर थुन्दिएको छ । हो होइन अदालतले भन्ला । उनले नेपाली जनताका बीचमा द्वन्द्व मच्याउन खोज्नेहरुले सक्रिय भएर आतंककारी गतिविधि गरिरहेको आरोप लगाए । अध्यक्ष ओलीले भने, ‘सत्ता गठबन्धन र गठबन्धनका नेताहरु सत्ता स्वार्थ, सरकार जोगाउने, मन्त्री जोगाउने, कसरी मन्त्री हुने, कसले बढी कमाउने, कसले बढी आफन्त पोस्ने धन्दामा लागिरहेका छन् ।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार केही समयमा आफैं ढल्ने अध्यक्ष ओलीको दावि छ ।
उनले भने, ‘हामीले अहिले मिसन ८४ भनिरहेका छौं । यहीबीचमा यो सरकार कसैले ढाल्नुपर्दैन, हल्लिराखेको छ । तर, हामी पूर्वदेखि पश्चिमसम्मको तीन हप्ताको अभियानमा लागेका छौं । यो सरकार आफैं ढल्न पनि सक्छ कुनै समय । यो गठबन्धनको छेस्का अड्याएको सरकार हो । यसको कुनै सिद्धान्त, नीति, योजना र कार्यक्रम छैन ।’