धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

फूलवारीमा धनगढी उपमहानगरको गौशाला सञ्चालन

सामुदायिक चौपायका कारण आजीत बनेका किसानले राहत पाउने अपेक्षा

फूलवारीमा धनगढी उपमहानगरको गौशाला सञ्चालन

धनगढी । धनगढी उप महानगरपालिकाले वडा नम्बर–१८ फूलवारीमा निर्माण गरेको गौशाला सञ्चालनमा आएको छ ।
वडा नम्बर–१४, १८ र १९ मा रहेका सामुदायिक पशु चौपायलाई व्यवस्थापन गर्ने उद्देश्यले धनगढी उप महानगरपालिकाले गत आर्थिक बर्षमा बजेट छुट्याएर गौशाला निर्माण सुरु गरेको थियो ।
गौशाला निर्माण सम्पन्न भएपछि पहिलो चरणमा चार सय ५५ वटा सामुदायिक चौपाय संकलन गरी व्यवस्थापन गरिएको धनगढी उप महानगरपालिकाका मेयर गोपाल हमालले बताए । ‘गौशाला सञ्चालनमा आएपछि सो क्षेत्रका किसानको वाली जोगिने अपेक्षा गरिएको छ,’ मेयर महालले आफ्नो फेसबुक पेजमा लेखेका छन्, आफ्नो वरिपरी देखिएका सामुदायिक चौपायलाई गौशालामा पुर्याएर सहयोग गर्न सवै नागरिकमा अनुरोध छ ।’
गौशाला निर्माणपछि खेतमा लगाएको तरकारी तथा अन्न वाली जोगाउन रातभरी जाग्रम बस्नुपर्ने बाध्यताको अन्त्य हुने किसानले अपेक्षा गरेका छन् । ‘सामुदायिक पशु चौपाएका कारण खेतमा लगाएको अन्नवाली तथा तरकारी, फलफूल जोगाउन हम्यहम्य परेको थियो,’ धनगढी–१८ का स्थानीय चन्द्र ओझाले भने, ‘उप महानगरले गौशाला सञ्चालनमा ल्याएपछि अव सो समस्याबाट जोगिने अपेक्षा गरिएको छ ।’ सामुदायिक चौपाएका कारण सो क्षेत्रमा स्थानीयले राती जाग्रम बस्ने गरेको उनले बताए ।
‘सामुदायिक चौपायले वाली नष्ट गरेपछि चिसो गर्मि, बर्षा केही नभनी यहाँका स्थानीयले पालैपालो रातिको समयमा ड्यूटी गर्ने गरेका थियौं,’ ओझाले भने, ‘अव त्यो समस्याबाट पनि छुट्कारा पाउने छौं ।’ उनले धनगढी उप महानगरले गौशाला निर्माण गरेर फूलवारी क्षेत्रका नागरिकका लागि ठुलो राहत हुने काम गरेको बताए ।