धनगढी पोष्ट
सोमबार, १८ मङि्सर २०८० मा प्रकाशित
धनगढी । लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन ( सोमबार) भएका दुई खेलमा धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोट्र्स क्लब विजयी भएका छन् । कैलालीको धनगढीमा जारी प्रतियोगितामा धनगढी क्रिकेट एकेडेमीले कैलाली बहुमुखी क्याम्पसलाई र धनगढी स्पोट्र्स क्लबले कैलाली जिल्ला क्रिकेट क्लबलाई पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेका हुन् ।
फाप्ला क्रिकेट मैदानमा भैरहेको प्रतियोगिताको पहिलो खेलमा समुह बि मा रहेको धनगढी क्रिकेट एकेडेमीले कैलाली मल्टिपल क्याम्पसलाई ४३ रनले पराजित गरेको हो । निर्धारित १५ ओभरमा १२५ रनको लक्ष्य पछ्याएको कैलाली मल्टिपल क्याम्पसले पुरै ओभर ब्याटिंग गरेता पनि ९ विकेट गुमाएर ८१ रन मात्र बनाउन सक्यो ।
धनगढी क्रिकेट एकेडेमीका बलर निरज ऐरले ४ विकेट लिंदै कैलाली मल्टिपलको इनिंग्स धरासायी बनाए । प्लेयर अफ द म्याच घोषित ऐरले ३ ओभरमा १ मेडन ओभर फाल्दै मात्र ४ रन खर्चिए । अनिश अवस्थी र मान साउदले २÷२ विकेट लिए । कैलालीको ब्याटिंगमा गणेश ऐरले सर्वाधिक १७ तथा पंकज चौधरीले १४ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
यसअघि टस हारेर ब्याटिंग गरेको धनगढी क्रिकेट एकेडेमीले १५ ओभरमा ६ विकेट गुमाएर १२४ रन बनायो ।
धनगढीको लागि कप्तान विजय रानाले ओपनिंग ब्याटिंग गर्दै सर्वाधिक ४१ रन योगदान दिए, उनले २६ बलमा ५ चौका र १ छक्का प्रहार गरे । हृतिक थापाले अविजित ३७ रन बनाए जुन क्रममा ३० बलमा ५ चौका र १ छक्का प्रहार गरे । निरज ऐरले १० बलमा १ चौका र २ छक्का मद्दतले २१ रन बनाए । कैलालीका बलर अभिषेक कुँवर, लोकेन्द्र खनाल र दिप कपडेलले २÷२ विकेट लिए ।
दोश्रो खेलमा समुह ए अन्तर्गत धनगढी स्पोट्र्स क्लबले कैलाली जिल्ला क्रिकेट क्लबलाई ७२ रनले पराजित गयो । धनगढी स्पोट्र्सले दिएको १६७ रनको लक्ष्य पछ्याएको कैलाली जिल्लाले १५.२ ओभरमा ९४ रनमा सबै विकेट गुमायो ।
कैलालीको ब्याटिंगमा दिपक टमाटाले सर्वाधिक ३३ रन तथा बिनोद नाथ र नरेन साउदले समान १३ रन योगदान दिए । बलिंगमा भोज राज भट्ट र दिपक चन्द ठकुरीले ३÷३ विकेट लिए भने नारायण जोशीले २ विकेट लिए । दिपकले ४ ओभरमा १ मेडन गर्दै १० रन तथा भोजले ३ ओभरमा २० रन खर्चिए । प्लेयर अफ द म्याच घोषित नारायणले ३।२ ओभरमा १२ रन खर्चिए ।
यसअघि टस जितेर ब्याटिंग गरेको धनगढी स्पोट्र्स क्लबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६६ रन बनायो ।
धनगढीको लागि ओपनर आयुष्मान बमले सर्वाधिक ४५ रन बनाए जुन क्रममा ३४ बलमा ५ चौका र २ छक्का प्रहार गरे । नारायण जोशीले २५ बलमा ३५ रन बनाउने क्रममा ३ चौका र २ छक्का तथा आयुब चन्दले २९ बलमा ३२ रन बनाउने क्रममा ३ चौका र १ छक्का प्रहार गरे । ओपनिंग गरेका सुनिल धमलाले २५ रन बनाए ।
कैलाली जिल्ला क्रिकेट संघको बलिंगमा नरेन साउदले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा २८ रन खर्चिए । राहुल केसी र डबल ऐरले १÷१ विकेट लिए ।
प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टीमको सहभागिता रहेको छ ।