धनगढी पोष्ट
शुक्रबार, २२ मङि्सर २०८० मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री प्रकाश देउवाले प्रदेशमा लगानी गर्न चाहने व्यक्ति वा संस्थालाई सहुलियतमा ऋण पाउने व्यवस्था गर्न प्रधानमन्त्रीसंग आग्रह गरेका छन् ।
शुक्रबार देखि सुरु भएको सुदूरपशिचम महोत्सव उद्घाटनका क्रममा मन्त्री देउवाले प्रदेशमा लगानीको संभावना उच्च भएपनि लगानी कर्ता आकर्षित हुन नसकेको बताए । ‘कृषि, जलश्रोत, पर्यटन जस्ता क्षेत्रमा लगानी गर्ने प्रयाप्त सम्भावना छ,’ मन्त्री देउवाले भने, ‘तर लगानी कर्ताको आकर्षण छैन, लगानी कर्ताको आकर्षण बढाउन यस क्षेत्रमा लगानी गर्दा ऋणमा सहुलियत प्रदान गरेर सहयोग गर्न प्रधानमन्त्री ज्यू समक्ष आग्रह गर्दछु ।’
मन्त्री देउवाले सुदूरपश्चिमको समग्र विकासका लागि संघिय सरकारले समृद्धिको विशेष प्याकेज ल्याउनु पर्नेमा जोड दिएका छन् ।
कोभिड १९ ले थला परेको अर्थतन्त्र उकालो लाग्ने आसमा रहेका व्यवसायी र आम जनता पछिल्लो समयमा बैंकको चर्को व्याज र आर्थिक मन्दीको मारमा परेका कारण आम नागरिक र व्यवसायीका समस्या समाधानका लागि मन्त्री देउवाले आग्रह गरेका छन् ।
सुदूरपश्चिमका समस्या र सम्भावनाका बारेमा प्रधानमन्त्री जानकारनै रहेको बताउँदै मन्त्री देउवाले दार्चुलाको बिकट तिंकर होस वा बाजुराको अति बिकट बिच्छ्या, रुगिन र साप्पटाका जनताका दैनिक समस्यालाई पनि केन्द्रमा राखेर योजना अघि सार्न आग्रह गरे ।
सुदूरपश्चिम प्रदेशले देशलाई दर्जनौं क्रिकेट खेलाडि दिएको बताउँदै मन्त्री देउवाले खेलाडीको हौसला बढाउन र आगामी दिनमा अझै जुझारु खेलाडी उत्पादनका लागि फाप्लालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउन माग गरेका छन् ।
मन्त्री देउवाले भारतीय नाकासंग जोडिएको धनगढीस्थित त्रिनगर भन्सार कार्यालयमा रहेको प्लान्ट क्वारेण्टीन साउन २८ गतेदेखि बन्द रहेको कुरालाई जोड्दै त्रिनगरमा यथासिघ्र प्लान्ट क्वारेण्टीन सञ्चालनका लागि पनि आग्रह गरेका छन् ।
सुदूर पश्चिम प्रदेश सरकारले फागुन २३ र २४ गते सुदूर पश्चिम लगानी तथा विकास सम्मेलन आयोजना गर्न लागेको जानकारी गराउँदै मन्त्री देउवाले सो लगानी तथा विकास सम्मेलनलाई सफल बनाउन संघीय सरकारबाट पूर्ण सहयोग, साथ, सुझाव सहति आवश्यक निर्देशन दिन आग्रह गरेका छन् ।