धनगढी पोष्ट
बिहिबार, २८ मङि्सर २०८० मा प्रकाशित
धनगढी । धनगढी र बैतडीका एक/एक घरमा आगलागि हुँदा लाखौंको घनमाल जलेर नष्ट भएको छ ।
धनगढी उपमहानगरपालिका–१ शिवनगरमा मोहनराज भट्टको ३ तले पक्कि घरको बिच तलामा बिजुलीको लाईन सट भई आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट कोठामा रहेका अन्नपात, भाडावर्तन, लुगाकपडा लगायतका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिएको र यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी बैतडीको पाटन नगरपालिका–२ स्थीत एक घरमा आगलागी भएको छ । बुधबार राति साढे ११ बजे बैतडीको पाटन नगरपालिका–२ बिनोडास्थित जयन्ती पन्तको घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आगलागीबाट पन्तको घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । दुईकोठा र एक भान्सा भएको काठको भुँइतले घरमा आगलागी हुँदा घरभित्र रहेका अन्नपात, भाँडाकुडा, गरगहना र नगद २५ हजार जलेर नष्ट हुँदा ५ लाख बढीको क्षति भएको प्रारम्भीक अनुमान गरिएको छ ।
भान्सा कोठामा बालेको आगो घरमा सल्किएपछि आगलागी भएको हो । जयन्ती पन्त र उनका दुई छोरा तल्लो घरमा रहेकाले मानवीय क्षति नभएको बताइएको छ । आगलागी भएको थाहा पाएपछि गाउँलेहरुले आगो निभाउने प्रयास गर्दा पनि घर बचाउन नसकिएको बताएका छन् ।