धनगढी पोष्ट
मङ्गलबार, ०३ पुष २०८० मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीका ८ वटा स्वास्थय संस्थाबाट पोषणमैत्री स्वास्थ्य सेवा प्रदान गरिने भएको छ ।
स्वास्थ्य कार्यालय बैतडीका अनुसार जिल्लाका ८ ओटा स्वास्थ्य संस्थाहरुलाई पोषणमैत्री घोषणा समेत गरिएको छ । बैतडीका ५ पालिकामा पर्ने ८ ओटा स्वास्थ्य संस्थाहरुलाई पोषणमैत्री घोषणा गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।
विभिन्न सूचकहरु पूरा गरेपछि स्वास्थ्य संस्थाहरुलाई पोषणमैत्री घोषणा गर्ने गरिएको छ । जिल्लाको दशरथचन्द नगरपालिकाका तीन ओटा स्वास्थ्य संस्थाहरुलाई गत बर्ष पोषणमैत्री घोषणा गरिएको स्वास्थ्य प्रमुख भट्टले बताए । वडा नं ७ स्थित सुरकाल आधारभूत स्वास्थ्य केन्द्र, दशरथ चन्द स्वास्थ्यचौकी र त्रिपुरासुन्दरी स्वास्थ्यचौकीलाई पोषणमैत्री घोषणा गरिएको छ ।
यस्तै शिवनाथ गाउँपालिकाको उदयदेव स्वास्थ्यचौकी र श्रीपुर सामुदायिक आधारभूत स्वास्थ्य केन्द्रलाई पोषणमैत्री घोषणा गरिएको छ ।
यसैगरी सिगास गाउँपालिकाको गाँजरी स्वास्थ्यचौकी, पाटन नगरपालिकाको सकार स्वास्थ्यचौकी र पुर्चौंडी नगरपालिकाको हाट स्वास्थ्यचौकीलाई पोषणमैत्री घोषणा गरिएको स्वास्थ्य प्रमुख भट्टले बताए ।