धनगढी पोष्ट
मङ्गलबार, १० पुष २०८० मा प्रकाशित
डोटी । सुदूरपश्चिम प्रदेशमा मंसिर महिनामा लागु औषधको कारोवारमा संलग्न भएको आरोपमा प्रहरीले ६६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन महिला र ६३ जना पुरुष रहेका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार प्रदेशमा लागु औषधको कारोवारको आरोपमा पक्राउ परेका मध्य ५० प्रतिशत कैलालीबाट पक्राउ परेका छन् । मंसिरमा कैलालीमा सबै भन्दा बढी कैलालीमा दुई महिला र ३१ पुरुष गरी ३३ जनालाई नियन्त्रणमा लिइएको छ ।
प्रहरीका अनुसार कन्चनपुर जिल्लाबाट लागु औषधको कारोवारमा संलग्नताको आरोपमा १ महिला र २२ पुरुष गरि २३ जना, डडेल्धुरामा ४ जना, बझाङमा ५ जना र डोटीमा १ जना पक्राउ परेका छन् ।
कैलालीमा धनगढी, त्रिनगर, टीकापुर, सत्ति, लम्की मालाखेती क्षेत्रबाट लागु औषधको कारोवारमा संलग्नताको आरोपमा पक्राउ गरिएको हो । उनीहरुको साथबाट हेरोइन १७ ग्राम ९० मिलिग्राम र चरेस तीन किलोग्राम ७८० ग्राम नियन्त्रणमा लिइएको छ ।
यस्तै कञ्चनपुरको महेन्द्रनगर, गड्डाचौकी, बेलौरी, बेलडाँडी र त्रिभुवन बस्तीबाट नियन्त्रणमा लिएका व्यक्तिहरुबाट हेरोइन सात ग्राम ७८ मिलिग्राम, चरेस २२ मिलिग्राम, १४ एम्पुल रेक्सोजेसिक, १४ एम्पुल फेर्नागन, करिब ४५० ग्राम अफिम बरामद भएको छ ।
डडेल्धुरा सदरमुकाम क्षेत्रबाट ३५० ग्राम हेरोइन सहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बझाङको दुर्गाथली र खप्तड छान्ना क्षेत्रबाट ६ किलो ६० ग्राम चरेस र ९१ किलो ५१५ ग्राम गाँजा सहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै डोटीको शिखर नगरपालिका २ कालागाड क्षेत्रबाट चार ग्राम ४१० मिलिग्राम हेरोइनसहित एक जनालाई नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।