धनगढी पोष्ट
शुक्रबार, १३ पुष २०८० मा प्रकाशित
धनगढी । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा ललितपुको बालकुमारीमा भएको झडपमा परेर दुई युवकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार पाटन अस्पतालमा उपचाररत वीरेन्द्र शाहको र किस्ट अस्पतालमा उपचाररत २३ वर्षीय सुजन राउतको झडपमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
पानीजहाज बनाउने कम्पनीका लागि परीक्षा फर्म भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने ईपीएस कार्यालयले जनाएको थियो । पानी जहाज सम्बन्धी कम्पनीमा परीक्षा दिएका तर अनुत्तीर्णले फर्म भर्न नपाउने निर्णय विरुद्ध युवाहरु अदालत गएका थिए ।
उत्पादनमूलक तथा कृषि क्षेत्रमा हुने परीक्षा पनि उनीहरुलाई सहभागी गराउन अदालतले आदेश दिएको थियो । ईपीएस कार्यालयले अदालतमा रिट दायर गर्नेलाई मात्रै आवेदन दिन आह्वान गरेको थियो । अरु विद्यार्थीले फर्म भर्न नपाउने स्थिति भएपछि विरोध प्रदर्शन भइरहेको थियो ।
प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास हानेको थियो । स्थिति साम्य हुने स्थिति नदेखिएको भन्दै हवाई फायर गरेको थियो । आन्दोलनरत युवाले भौतिक पुर्वाधार मन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी गरेका थिए ।