धनगढी पोष्ट
शुक्रबार, १३ पुष २०८० मा प्रकाशित
धनगढी । संघियता पछि स्थानीय तह सञ्चालनमा आएको ७ बर्ष पुग्नथाले पनि कैलालीको गोदावरी नगरपालिकाले आफ्नै वडा कार्यालय भवन निर्माण गर्न सकेको छैन ।
गोदावरी नगरपालिकाले ६ वर्ष सम्म दुई वटा वडा कार्यालय मात्रै निर्माण गरेको छ । ४ वटा वडा कार्यालय भवन साविकको गाविस वा स्वास्थय चौकी भवनमा सञ्चालन भइरहेका छन्, भने ६ वटा वडा कार्यालय भाडा तिरेको घरमा सञ्चालनमा रहेका छन् ।
गोदावरी नगरपालिकाले ६ बर्षको अवधिमा वडा नम्बर १ र ९ का लागि नयाँ भवन निर्माण गरिएको हो भने वडा नम्बर ५, ७, ८ र ११ पुराको गाविस भवनमा सञ्चालित छन । वडा नम्बर ५ तत्कालीन गेटा गाविस, वडा नम्बर ७ र ८ तत्कालीन श्रीपुर गाविस भवन र वडा नम्बर ११ तत्कालीन गोदावरी गाविसको भवनमा सञ्चालित छन ।
हाल वडा नम्बर २, ३, ४, ६, १० र १२ भाडामा भवनमा सञ्चालित छन । वडा कार्यालय भवन निर्माणको लागि जग्गाकै जोहो नहुँदा भवन निर्माणमा ढिलाई भइरहेको नगरका प्रवक्ता गोपाल दत्त भट्टले बताए । उनले वडा भवन निर्माणको लागि चालु आर्थिक वर्षमा पनि नगरपालिकाबाट १ करोड विनियोजन गरिएको भएपनि कुन वडाको भवन बनाउने भन्ने टुङ्गो नलागेको बताए ।