धनगढी पोष्ट
शुक्रबार, २० पुष २०८० मा प्रकाशित
धनगढी । गत बर्ष मंसिर ४ हत्या गरिएका चेतनदीप अयडि हत्या प्रकरणमा मुछिएका चार जनालाई सर्बोच्च अदालतले साधारण तारेखमा छोड्न आदेश दिएको छ । अनेरास्ववियुका केन्द्रीय सदस्य समेत रहेका अयडीको हत्या आरोपमा जेलचलान भएका ६ जना अभियुक्तलाई बिहीबार सर्बोच्च अदालतमा साधारण तारेखमा रिहा गर्न आदेश गरेको हो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र अब्दुल अजिज मुसलमानको इजलासले बिहीबार यस्तो आदेश गरेको हो । शुक्रबार सार्वजनिक आदेशमा थुनामा राख्न नपर्ने भनेको हो । २०७९ मंसिर ४ गते आम निर्वाचनका दिन बाजुराको नाटेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा एमालेका तर्फबाट प्रतिनिधि बसेका अयडीलाई उनको घरमै गएर एक समूहले क्रूर तरिकाले हत्या गरेको थियो ।
अभियुक्तहरू जुद्धबहादुर अयडी, चक्रबहादुर अयडी, विनोदबहादुर अयडी, भूपाल अयडी, रुपा चौधरी अयडी र रनसिंह बहादुर अयडीलाई मुद्दा पुर्पक्षको निमित्त थुनामा नै राख्नुपर्ने अवस्था मिसिल संलग्न तत्काल प्राप्त प्रमाणहरूबाट देखिन नआएकोले थुनामा राख्ने गरी भएको जिल्ला र उच्च अदालतको आदेश बदर गरिएको सर्वोच्चले जनाएको छ । सर्वोच्चले धनराज थापा, जंग भन्ने शेरबहादुर अयडी, खेमराज अयडी र सागर अयडीलाई मात्र पुर्पक्षका लागि थुनामा राख्न भनेको छ ।
उक्त हत्याकाण्डमा जिल्ला अदालत बाजुरामा २४ जनाविरुद्ध मुद्दा दायर भएको थियो । तीमध्ये पक्राउ परेका सबैलाई जिल्ला अदालत बाजुरा र उच्च अदालत दीपायलले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । जिल्ला अदालत बाजुरा र उच्च अदालत दीपायलले घटनामा संलग्न देखिएका भन्दै पुर्पक्षका लागि थुनामा पठाए पनि सर्वोच्चले उल्टाएपछि उनीहरु छुट्ने भएका छन् ।