धनगढी पोष्ट
बुधबार, ३१ असार २०७७ मा प्रकाशित
धनगढी
भारतबाट आउने नागरिको संख्यामा कमी आएपछि क्वारेन्टिनमा रहेका पाँच जनालाई बिदाई गर्दै धनगढी–३ मा रहेको क्वारेण्टिन बन्द गरिएको छ । वडा नम्बर–३ का अध्यक्ष बल बहादुर ऐरले १÷२ जनालाई क्वारेनिटनमा राखेर उनीहरुको रेखदेख गर्न समस्या भएपछि अब आउने नागरिकलाई होम क्वारेन्टिनमा राख्ने निर्णय गरिएको बताए ।
‘भारत लगायत तेश्रो मुलुकबाट आउने नागरिकको संख्या घटेपछि १÷२ जनालाई मात्रै विद्यालयमा राख्दा सुरक्षा चुनौती समेत थपिएको छ’ अध्यक्ष ऐरले भने ‘थोरै नागरिकलाई रेखदेख गर्न र खानपानको व्यवस्थापन गर्न समस्या भएपछि क्वारेन्टिन बन्द गरेर घरमै राख्ने निर्णय गरेका हौं ।’
क्वारेन्टिन बन्द गर्दा त्यहाँ रहेका ५ जनालाई फूल र स्यानिटाइजर दिएर विदाई गरिएको थियो ।
भक्त बिबि फाउण्डेको आर्थिक सहयोगमा जेठ ११ गतेदेखि सञ्चालनमा आएको क्वारेन्टिनमा १ सय ३१ जना बसेका थिए । जसमा १४ महिला रहेका वडा सदस्य ओम चन्दले बताए ।
उनका अनुसार क्वारेन्टिन बन्द गर्ने समयमा बचेको खाद्यान्न तीन वटा सामाजिक तथा मानव सेवामा काम गर्दै आएका संस्थालाई वितरण गरिएको छ । धनगढी–१३ मा रहेको निङलाशैनि गुरुकुल विद्यापिठ, धनगढी–५ मा रहेको आमाको माया छात्रवास र धनगढी–७ मा रहेका दृष्टि फाउण्डेसनलाई बचेको खाद्यान्न –चामल, चिनी, दाल, बिस्कुट हस्तान्तरण गरिएको हो ।
भक्त बिबि फाउण्डेसनका केन्द्रिय सल्लाहकार राज बहादुर चन्दले आफुहरुले लगानी गरेको रकम सही रुपमा सदुपयोग भएको देख्दा खुशी लागेको बताए । ‘थोरै लगानीलाई जनप्रतिनिधीले व्यवस्थित गर्दै राम्रो प्रतिफल दिएका छन्’ उनले भने– ‘आगामी दिनमा आवश्यक परे थप सहयोग गर्ने छौं ।’