धनगढी पोष्ट
शनिबार, २८ पुष २०८० मा प्रकाशित
धनगढी । परराष्ट्रमन्त्री एनपी साउदले संसदको आगामी अधिवेशनबाट टिआरसी विधेयक पारित हुने बताएका छन् । सबै दलहरुको सहमतिअनुसार पारित गर्ने गरेर विधेयक संदनमा लैजान लागेको मन्त्री साउदको भनाइ छ ।
दोगडाकेदारमा आयोजित साँस्कृतिक महोत्सवको उद्घाटन गर्न शनिबार बैतडी पुगेका मन्त्री साउदले पीडितलाई न्याय दिने किसिमले शान्ति प्रक्रियालाई टुंग्याउन लागिएको प्रष्ट पारे ।
‘आगामी अधिवेशनमा शान्ति प्रक्रिया टुंगोमा पु¥याउन सरकारले विधेयक संसदमा लैजाँदै छ,’ उनले भने ‘यो विधेयक पारित भैसकेपछि संसारभरी नेपालको शान्ति प्रक्रियाको मोडेल स्थापित हुँदैछ, त्यो काममा अहिले हामी लागेका छौं ।’
मन्त्री साउदले सरकारले पछिल्लो एक बर्षमा बदनाम हुने कुनै काम नगरेको दाबी गरे। उनले भने ‘सरकारले टाउको निहुराउने किसिमले, लज्जाबोध हुने किसिमले अहिलेसम्म कुनै काम गरेको छैन। खस्केको अर्थतन्त्र उकास्ने, बिग्रे–भत्केको हाम्रो प्रशासन तन्त्रलाई सुशाशनको बाटोमा लैजाने भनेर हामी लागिपरेका छौं ।’