धनगढी पोष्ट
बिहिबार, ०४ माघ २०८० मा प्रकाशित
धनगढी । धनगढी उपमहानगरपालिकाले मालपोत कार्यालय धनगढीमा सोलार पावर जडान गरेको छ । विद्युत् गएको समयमा मालपोतको सेवा अवरुद्ध हुने भएकाले उपमहानगरपालिकाले सोलार पावर जडान गरेर सहयोग गरेको हो ।
मालपोत कार्यालयमा टाढा टाढाबाट नागरिक आउने गरेको भएपनि पटक–पटक गइरहने विजुलीका कारण समस्यामा पर्ने गरेका कारण सो समस्याको समाधानका लागि सोलार प्यानल जडान गरिएको धनगढी उप महानगरपालिकाका नगर प्रमुख गोपाल हमालले बताए । ‘विजुलीको समस्याका कारण सानो कामका लागि दुई, तीन दिन सम्म मालपोत धाउनु पर्ने गरेको गुनासो नागरिकको थियो,’ नगर प्रमुख हमालले भने, ‘सो समस्यालाई मध्यनजर गरेर करिव १० लाख लागतमा सोलार प्यानल जडान गरिएको हो, यसले सेवा ग्राहीलाई सहज हुने अपेक्षा गरिएको छ ।’
नगर प्रमुख हमालले प्रायः मालपोत कार्यालयबाट सेवाग्राहीको ‘काम भएन बत्ती भएन’ भन्ने गुनासो आइरहने भएकाले सोलार पावर सहयोग गरिएको बताए । उनले उपमहानगरको पहिलो प्राथमिकता नगरवासीको सेवा भएकाले सोलार पावर जडान गरेर सेवा पाउन सहजीकरण गरेको बताए ।
भूमि सुधार तथा मालपोत कार्यालय, धनगढीमा उपमहानगरपालिका, गौरीगंगा नगरपालिका, गोदावरी नगरपालिका, चुरे गाउँपालिका, कैलारी गाउँपालिका, घोडाघोडी नगरपालिका, बर्दोगोरिया गाउँपालिका र भजनी नगरपालिकाका जनताले सेवा लिने गर्दछन् ।
विद्युत सेवा अवरुद्धभयो भन्ने मालपोत कार्यालयको सेवा ठप्प रहने अवस्थाको अन्त्य गर्न उपमहानगरपालिकाले सोलार पावर जडान गरेको नगरप्रमुख गोपाल हमालको सचिवालयले जनाएको छ । धनगढी र अन्य स्थानीयतहबाट आएका सेवाग्राहीले एउटै कामका लागि ३÷४ दिनसम्म कुर्नु पर्ने अवस्थाको अन्त्य गर्न सोलार पावर जडान गरिएको हो । सोलार पावर जडान भएसँगै बत्ती नभएको अवस्थामा पनि सेवाग्राहीको काम सुचारु हुनेछ ।
धनगढी उपमहानगरपालिकाले ९ लाख ९८ हजारको लागतमा सोलार पावर जडान गरेको जनाएको छ । नेपाल उर्जा विकास कम्पनी प्रालि, काठमाडौंले भूमिसुधार तथा मालपोत कार्यालयमा सोलार ईन्भटर पावर व्याकपको जडान कार्य गरेको हो ।
मालपोत कार्यालयमा जडित सोलार प्यानलको बिहिवार प्राध्यापक डाक्टर हेमराज पन्तले उद्घाटन गरे । मालपोत जनताको प्रत्यक्ष सरोकारको विषय भएकाले जनतालाई छिटो छरितो सेवा दिए मात्र जनताको सरकारप्रतिको विश्वास बढ्दै जाने र निराशा बीच आशाको दीप बल्दै जाने कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डाक्टर हेमराज पन्तले बताए । मालपोत कार्यालयले सोलार पावर जडान भए पश्चात् बत्ती गएको अवस्थामा पनि सेवाग्राहीको काम गर्न सहज हुने जनाएको छ ।
कार्यक्रममा नगर प्रमुख गोपाल हमाल, भूमिसुधार तथा मालपोत कार्यालय धनगढी, कैलालीका कार्यालय प्रमुख, नापी कार्यालयका प्रमुख, धनगढी उपमहानगरपालिका डिभिजन इन्जिनियर लगायत मालपोतका कर्मचारी र सेवाग्राहीको उपस्थिति रहेको थियो ।