धनगढी पोष्ट
आइतबार, १४ माघ २०८० मा प्रकाशित
धनगढी । लगातारको हुस्सुका कारण धनगढी विमानस्थलमा तीन दिनदेखि हवाई उडान ठप्प बनेको छ ।
बाक्लो हुस्सुका कारण भिजिविलिटी कम भएपछि धनगढी–काठमाण्डौको उडान प्रभावित बनेको हो । विगत ३ दिनदेखी बाक्लो हुस्सुका कारण उडान प्रभावित बनेका हुन ।
धनगढी विमान स्थल कार्यालयका वरिष्ठ अधिकृत दीपक भट्टका अनुसार शुक्रबार धनगढी–काठमाण्डौंको एउटा मात्र उडान भएको थियो भने शनिबार सबै उडान ठप्प भएका थिए । आइतबार पनि बिहानैदेखि अकास नखुलेकोले दिउँसो मात्रै उडानबारे थाहा हुने बताइएको छ । धनगढीबाट उडान भर्नका लागि एक हजार सात सय मिटरसम्म आँखाले देखिनुपर्ने हुन्छ । तर आईतबार एक सय मिटरसम्म मात्रै देखिएको बताइएको छ ।
यहाँबाट बुद्ध एयरको २ र श्रीएयरको ४ वटा गरी दैनिक ६ वटा उडान हुँदै आएका छन। धनगढी विमानस्थलमा कम भिजिबिलिटी भएको अवस्थामा पनि फ्लाइट रद्द गर्नुपर्ने अवस्था नआउने विमानस्थल कार्यालयले जनाएपनी सो समस्या पुनः बल्झिएको छ।गत वर्षको मंसिरमा कुनैपनि उडान ५ हजारभन्दा कम भिजिबिलिटी भएको अवस्थामा पनि फ्लाइट रद्द गर्नुपर्ने अवस्था नआउने जनाएको थियो। धनगढी विमानस्थलमा भीओररडीएमई उपकरण जडान भएर सफल परिक्षण भएको भन्दै कुनै पनि उडान सेवा प्रभावित नहुने विमानस्थल कार्यालयले बताएको थियो ।
तर एक वर्ष नपुग्दै सो समस्या पुनः देखीएको छ। जुनसुकै मौसममा पनि विशेष गरी साना जहाजहरुको सहजै उडान र अवतरण गर्न मद्दत मिल्ने, १६ देखि १७ मिटर भिजिबिलिटीमै पनि उडान भर्न सकिने हुँदा पहाडी जिल्लाको उडान समेत रद्द नहुँने विमानस्थल कार्यालयले जनाएको थियो । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले धनगढी विमानस्थलमा भीओररडिएमई र एप्रोच लाइट जडानसहित सफल परिक्षण समेत भइसकेकाले भिजिबिलिटी समस्याले कुनैपनि जहाजको उडान रद्द नहुँने बताइरहँदा अहिले सो समस्या समाधान नभएको पुष्टि भएको छ ।