धनगढी पोष्ट
सोमबार, १५ माघ २०८० मा प्रकाशित
धनगढी । बझाङको केदस्यू गाउँपालिका र थलारा जोड्ने देउरामा पक्की पुल नहुँदा त्यहाँका स्थानीय जोखिम मोलेर नदी सेति नदी वारपार गर्न बाध्य हुन थालेका छन् ।
दुई वर्षअघि आएको बाढीका कारण देउारा स्थित केदारस्युँ गाउँपालिका र थलारा गाउँपालिका जोड्ने झोलुङ्गे पुल बगाएपछि स्थानीयलाई खोला वारपार गर्न जोखिम मोल्दै आएका छन् ।
स्थानीय पूर्वाधार विकास आयोजना कैलालीले झोलुङ्गे पुल निर्माणका लागि ठेक्का लगाएको एक वर्ष बितिसक्दा पनि निर्माण सुरु नहुँदा स्थानीयले यस्तो समस्या भोग्दै आएका हुन् । हिउँदको समयमा दुई वटै पालिकाले सेती नदीमा काठेपुल निर्माण गर्दै आएका छन् ।
वर्षाको समयमा भने पानीको बहाव बढ्ने र निर्माण गरेको अस्थायी काठेपुल बगेर जाने भएकाले सर्वसाधारणलाई नदी वारपार गर्न कठिन हुने गरेको छ । देवभूमि कन्स्ट्रक्सन अमरगढीले एक करोड ५० लाख रुपियाँमा सो पुल बनाउने जिम्मा पाएको थियो तर सो पुल बनाउने काम सुरु हुन सकेको छैन
झोलुङ्गे पुलको शिलान्यास लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले गर्नुभएको थियो । हिउँदमा काठेपुलमा समेत भारी बोकेर वारपार गर्दा जोखिम मोल्नुपर्ने अवस्था रहेको स्थानीयको भनाइ छ । त्यस क्षेत्रको मुख्य बजार देउरा रहेकाले पनि छिमेकी जिल्ला डोटी र थलारा गाउँपालिकाका नागरिकले समेत पुल नहुँदा दुःख र सास्ती खेप्दै आएका छन् ।
पुरानो झोलुङ्गे पुल बाढीले बगाएपछि केदारस्युँ गाउँपालिकामा रहेको बेताल माविमा पढिरहेका विभिन्न गाउँका ९० भन्दा बढी बालबालिकालाई आउन जान कठिन भएको छ । विद्यार्थी जोखिम मोलेर सेती नदीको काठेपुलबाट ओहोरदोहोर गर्ने गरेको थलारा गाउँपालिका–१ का बासिन्दा लालबहादुर बोहराले बताए ।
बर्सातमा सेती नदीमा पानीको सतह बढ्नेबित्तिकै थलारा र केदारस्युँका बालबालिकालाई स्कुल जान कठिन हुने उहाँको भनाइ छ । पुल नहुँदा उपभोग्य सामग्री किन्न, बिरामीलाई स्वास्थ्य चौकीमा लैजान पनि कठिनाइ हुने गरेको स्थानीयको भनाइ छ । केदारस्युँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पद्मराज उपाध्यायले पुलका विषयमा पटक पटक ठेकेदारसँग समन्वय गरेर काम छिटो गर्न अनुरोध गर्दा पनि सफल नभएको बताए ।