धनगढी पोष्ट
सोमबार, २२ माघ २०८० मा प्रकाशित
धनगढी । कैलालीमा हुलाकी राजमार्ग स्तरोन्नतिको कार्य थप गरिएको समयमा पनि पूरा हुन सकेको छैन । निर्माण कम्पनीको ढिलासुस्तीका कारण पहिलो पटक थप गरिएको समयावधि सकिँदा पनि स्तरोन्नतिको कार्य पूरा हुन नसकेको हो ।
यहाँ विभिन्न सात प्याकेजमा हुलाकी राजमार्ग स्तरोन्नतिको कार्य भइरहेको छ । धनगढीको क्याम्पस रोडदेखि कट्नी खोलासम्मको सात किलोमिटरको पहिलो प्याकेज स्तरोन्नतिको कार्य मात्रै तोकिएको समयमा पूरा भएको छ । पहिलो प्याकेजको सहरी क्षेत्रमा चार लेनको राजमार्ग बनाइएको छ । बाँकी पूर्वपश्चिम र उत्तरदक्षिणमा स्तरोन्नति भइरहेको छ वटै प्याकेजको निर्माण तोकिएको समयावधिमा पूरा हुन सकेको छैन ।
अधिकांश प्याकेजको काम आधा पनि भएको छैन । ती सबै प्याकेजको पहिलो पटक थप गरिएको समयावधि गएको पुसमै सकिएको छ । लम्की–टीकापुर–खक्रौला खण्डको आठ किलोमिटरमा राजमार्ग स्तरोन्नतिको काम आधा पनि नभएको हुलाकी राजमार्ग आयोजनाको कार्यालय धनगढीले जानकारी दिएको छ । उक्त सडक निर्माणको प्याकेज अनुसार भौतिक प्रगति ३५ देखि ४५ प्रतिशतसम्म पुगेको आयोजना कार्यालयका इन्जिनियर बर्खबहादुर कठायतले बताए ।