धनगढी । नेपाल कम्युनिष्ट पार्टी एमाले कैलाली जिल्लाको नेतृत्व चयनमा एमालेको सुदुरपश्चिम प्रदेश अधिवेशनको झल्को देखिएको छ । सुदुरपश्चिम प्रदेशको निर्वाचनका बेला सक्रिय बनेका एमालेका केन्द्रिय नेताका तीन समुहले नै जिल्ला नेतृत्वका लागि अघि सारेका उम्मेदवारहरु सहमतिका लागि पछि नहटेपछि अधिवेशनको तेश्रो दिन पनि निर्वाचन प्रकृया शुरु हुन सकेन ।
फागुन छ गते अधिवेशन शुरु हुदा अध्यक्ष केपी शर्मा ओलीले पहिलो दिन सहमतिको प्रयास सफल नभए दोश्रो दिन निर्वाचन गर्न निर्देशन दिएका थिए । तर सुदुरपश्चिमबाट प्रतिनिधित्व गर्ने केन्द्रिय समितिका नेताहरुले अध्यक्षमा तीन जनालाई समुह सहित उम्मेदवार बनाउन लागिरहेका छन् । आफ्नो पक्षमा सहमति जुटाउन पहिलो दिनदेखि नै तिनै पक्ष लागिरहदा पनि सहमति जुट्न सकिरहेको छैन ।
निर्वाचन भएमा दुई समुह बाहिरिने सम्भावना रहेकाले आफु हारेको सन्देश पनि दिन नचाहने र जित्न पनि कसैले ढुक्क महशुश नगरेका कारण तेश्रो दिन मंगलबार पनि उम्मेदवारी दर्ताको सुचना निकालेर पनि स्थगित गरिएको छ ।
एमाले जिल्ला अधिवेशनमा निर्वाचन समितिका सदस्य नरेन्द्र शर्माले उम्मेदवारी दर्ताको कार्यक्रम सार्वजनिक गरे पनि प्रकृया अघि बढाउन राति हुने भएकोले स्थगित गरिएको बताए । बुधबार बिहान निर्वाचनको प्रकृया शुरु हुने निर्वाचन समितिका सदस्य शर्माले बताए ।
कैलालीको निर्वाचनका लागि स्थायी समिति सदस्य कर्ण थापा, पोलिटब्युरो सदस्य नारदमुनि राना, केन्द्रिय सदस्य झपट रावलको समुहबाट डेजी पाण्डे टीम सहित अध्यक्षका दावेदार छन् । हाल जिल्ला समितिका सचिव रहेका पाण्डे जिल्लाभरिका मतदातहरुको आफुलाई बिश्वास भएकोले अध्यक्षमा अघि बढेको बताउँछन् ।
एमालेका केन्द्रिय सचि एवम स्थायी समिति सदस्य लेखराज भट्टको टीमका दुर्गा जोशीले पत्रकार सम्मेलन नै गरे उम्मेदवारी घोषणा गरेका छन् । जिल्ला समितिका कार्यवाहक अध्यक्ष समेत रहेका जोशीे पदाधिकारीको टीम पनि घोषणा गरेका छन् । जोशीले भने ‘अध्यक्षका लागि म भन्दा उपयुक्त कोही छैन । पार्टीलाई २०८४ मा बिजयी गराउन मेरो उम्मेदवारी छ ।’
जोशीको टीमबाट उपाध्यक्षमा विष्णु चौधरी, सचिवमा दान बहादुर विश्वकर्मा, उपसचिवमा नृप बहादुर थ्यायत खड्का र रत्ना कुवर जोशी दावेदार रहेका छन् ।
एमालेका पोलिटब्यृरो सदस्य एवम कैलाली इन्चार्ज गणेश ठगुन्ना, निवर्तमान प्रदेश अध्यक्ष एवम केन्द्रिय सदस्य दामोदर भण्डारी, प्रदेश सचिव रण बहादुर चन्दको समुहबाट निवर्तमान प्रदेश सचिवालय सदस्य यत्र ढुंगाना प्रतिस्पर्धाको तयारीमा छन् । ढुंगानाको टीमबाट सचिवमा बिष्णु चन्द आकांक्षी छन् ।
चार महिनाअघि भएको प्रदेश समितिको निर्वाचनमा कर्ण थापाको समुहले कृष्ण जैशी, भट्टको समुहले बच्चन बहादुर सिंह र ठगुन्ना र भण्डारीको टीमले कमल तिमिल्सेनालाई टीम सहित अध्यक्षमा अघि सारेका थिए । केन्द्रिय नेतृत्वको सहमतिको दवाव र निर्वाचन भएका दुई समुह पराजित हुने अवस्था आएपछि सहमतिमा नेतृत्व चयन गरिएको थियो ।
कैलाली जिल्लामा पनि कसैको स्पष्ट बहुमत नभएका कारण पराजित हुन कुनै समुहले पनि नचाहेको र नेतृत्व छोड्न पनि नसकेका कारण सहमतिको प्रयास लम्बिरहेको एमालेका नेताहरु बताउँछन् ।
सहमति हुन नसक्दा दोश्रो दिनसम्म निर्वाचन समितिले मतदाता नामावली र निर्वाचित हुनेहरुको क्लष्टरवाइज प्रमाणित संख्या पाएको थिएन । मंगलबार ती जानकारीहरु पाएपछि निर्वाचन समितिले उम्मेदवारीको सुचना प्रकाशित गरे पनि साझ परेको भन्दै स्थगित गरेको थियो ।
एमाले कैलालीको जिल्ला अधिवेशन फागुन ६ गते सुखडमा शुरु भएको हो ।