धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

मेरो मुद्धा नैतिक पतनमा पर्दैन : रेशमचौधरी

मेरो मुद्धा नैतिक पतनमा पर्दैन : रेशमचौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले  उनले आफु विरुद्धको मुद्दा नैतिक पतन भित्र नपर्ने बताएका छन् । निर्वाचन  आयोगले सोधेको पाँच प्रश्नको मंगलबार  जवाफ  दिंदै रेशमले कर्तव्य ज्यान फौजदारी अपराध भए पनि फौजदारी अपराध र नैतिक पतन देखिने फौजदारी अपराध पर्यायवाची नभएको दाबी गरेका छन् ।

जहाँसम्म नैतिक पतन देखिने फौजदारी कसुरको सबाल छ, सो सम्बन्धमा नैतिक पतन हुनेगरी अभियोजनकर्ताले माग गरेको अवस्थामा अदालतले फैसला गर्दा नैतिक पतन हुने र नहुने भनी बोलिने र मुद्दाको प्रकृति, अवस्था, घटनाक्रम, सन्दर्भ र प्रतिवादीको कसुर गर्दाको अवस्थाको कार्य कारणबाट केही मुद्दामा सम्मानित सर्वोच्च अदालतबाट मुद्दा फैसला गर्दाको क्रममा व्याख्या भई नैतिक पतनका सम्बन्धमा बोलिएको सम्मको अवस्था हुँदा मेरो हकमा भएको कर्तव्य ज्यान समेतको कसुर नैतिक पतन देखिने फौजदारी कसुरमा पर्दैन’ पत्रमा उनले भनेका छन् ।

उनले आफ्नो सदस्यता पनि राजनीतिक दल सम्बन्धी ऐन अन्तर्गत नै रहेको उल्लेख गरेका छन् । सम्बन्धित कानुनले सम्बोधन नगरेको विषयलाई दलको सदस्यताको अयोग्यताको आधार बनाउनु अनुचित हुने उनको भनाइ छ । 

राष्ट्रपतिबाट आममाफी पाएको सन्दर्भमा अध्यक्ष चौधरीले दिलबहादुर लामाको नजीर उल्लेख गरेका छन् । उनले आममाफीबारे नेपालको संविधान र ऐन कानुनमा स्पष्ट व्याख्या नभएकाले सर्वोच्च अदालतको नजिरको सहारा लिएको उल्लेख गरेका छन् ।

दिलबहादुर लामा पनि पूरा माफी पाएरै नुवाकोटबाट संसदमा विजयी भई सहायक मन्त्री समेत बनेको उनले स्मरण गराएका छन् । अहिले मेरो हकमा पनि आंशिक माफी नभइ पूरै माफी भएकाले म उपरको मुद्दाको अन्त्य हुन गएको छ । संविधान बमोजिम राष्ट्रपतिबाट माफी भएकोमा अपराध नभए सरह सबै आपराधिक दायित्व समाप्त हुनाले माफीको परिणाम स्वरुप माथि उल्लेखित दिलबहादुर लामाको बनाइएको कानुन बमोजिम मेरो मुद्दाको पनि अन्त्य भएको मान्नुपर्दछ, उनले भनेका छन्

गत पुसमा  कैलालीको टीकापुरमा भएको नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशनबाट रेशम चौधरी अध्यक्ष निर्वाचित भएका थिए । त्यसविरुद्ध माघ ३ गते उनीविरुद्ध निर्वाचन आयोगमा दुइटा उजुरी परेको थियो । नागरिक उन्मुक्ति पार्टीले माघ २९ गते नयाँ केन्द्रीय कार्यसमितिको अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । निवेदन परेपछि आयोगले फागुन ९ गते नागरिक उन्मुक्ति पार्टी र रेशम चौधरीलाई छुट्टाछुट्टै पत्र काटेको थियो ।