धनगढी पोष्ट
शनिबार, २६ फागुन २०८० मा प्रकाशित
धनगढी । धनगढी उप महानगरपालिकाकी उप प्रमुख कन्दकला रानाले दलित महिलालाई मुलधारमा ल्याउने गरी उप महानगरले विशेष कार्यक्रम तयार गरिरहेको र छिट्टै सो कार्यक्रम सार्वजनिक गरिने बताएकिछन् ।
दलित महिला संघ -फेडो_ले गठन गरेको अगुवा दलित महिला अभियानताको क्षमता अभिवृद्धि गर्न आयोजित तालिम समापन गर्दै उप प्रमुख रानाले भनिन्, ‘पालिका भित्र रहेका विपन्न दलित महिलालाई लक्षित गरेर हामीले विषेश कार्यक्रम निर्माण गरेका छौं, त्यो कार्यक्रम छिट्टै ब्रक डाउन गर्नेछौं ।’
फेडोले छोटो समयमा दलित तथा विपन्न महिलाको स्तर सुधार्न महत्वपूर्ण काम गरेको बताउँदै उप प्रमुख रानाले संस्थाले गरेका सकारात्मक प्रयासलाई आगामी बर्षको नीति तथा कार्यक्रममा समावेस गर्ने प्रतिबद्धता समेत जनाइन् ।
उनले अगुवा महिला सूचनाको पहुँचमा हुनुपर्ने, ऐन कानूनबारे जानकार हुनुपर्ने, मानसिक रुपमा बलियो हुनुपर्ने बताइन् । ‘आफु बलियो नभई समाजिक चुनौतिको सामना गर्न सकिदैन,’ उप प्रमुख रानाले भनिन्, ‘त्यसैले सामाजिक अगुवा सधै सूचनाको पहुँचमा हुनु जरुरी छ, मानसिक रुपमा बलिाये हुनुपर्दछ, वित्तीय साक्षरता हाँशील गरेको हुनुपर्दछ र ऐन कानूनको बारेमा जानकार हुनु जरुरी छ ।’ उनले विपन्न महिलालाई रोजगारीको अवसरमा जोड्न सकेमात्रै उनिहरुमाथी हुने विभेद अन्त्य हुन सक्ने बताइन् । उप महानगरले पनि महिलालाई रोजगारी जोड्ने गरी योजना तयार गरिरहेको उनको भनाई छ ।
तालिममा सहभागि अगुवा दलित महिला अभियानता सञ्जालकी जिल्ला संयोजक लक्ष्मी सोपले नेतृत्व सम्बनधी तालिममा पाउँदा काम गर्न अझै सहज हुने बताइन् । ‘हामी पिडितको पक्षमा काम गर्न र उनिहरुलाई न्यायीक निकायम सम्म पुर्याउन पुलको भूमीमा हुनु पर्छ भन्ने कुरा तालिममा सिक्ने अवसर मिलेको छ,’ उनले भनिन्, ‘त्यसले आगामी दिनमा पिडितका पक्षमा र सामाजिक विकृतिको बिरुद्ध वकालत गर्न सहज हुने छ ।’
सहभागि ममता विकले पनि नेतृत्व भनेको नेता मात्र नभई न्यायिक निकाय र पिडित पक्ष विचको पुल हुने कुरा सिक्न पाइएको बताइन् । उनले काम गर्दा विस्वसनियता कसरी कामय गर्ने, गोपनियता कसरी जोगाउने भन्ने बारेमा सिक्ने अवसर प्राप्त भएको बताएन् । फेडोले महिलालाई आर्थिक, सामाजिक र राजनीतिक रुपमा सक्षम हुने अवसर प्राप्त गरेको बताउँदै उनले पाएको अवसरको भरपुर सदुपयोग गर्ने प्रतिबद्धता जनाइन् ।
कार्यक्रमको उद्देश्य प्रकाश पार्दै फेडो कैलालीका संयोजक विनोद घिमिरेले जिल्ला स्तरिय अगुवा अभियानता महिलाले समाजमा हुने हिंसा लगायतका सामाजिक समस्यामा जोडिनुप्रने भएका कारण उनिहरूलाइ ती सास्यामा कसरी सहजिकरण गर्ने, दस्तावेजिकरण कसरी गर्ने भन्ने बारेमा थप स्पष्ट पार्न खोजिएको बताए ।
‘यस अघिपनि अभियानता महिलालाई थुप्रै तालिम तथा अभिमुखिकरण कार्यक्रममा सहभागि गरिइदै आएको थियौं,’ घिमिरेले भने, ‘काम गर्दै जाँदा महिलाले विभिन्न चुनौतिको सामना गर्नुपर्ने र ऐन कानूनहरु परिमार्जिक भइरहने भएकाले ती कानूनको बारेमा जानकारी गराउन र कामको दौरान आइपरेका चुनौतिको कसरी सामना गर्ने भन्ने जानकारी दनि तालिम आयोजना गरिएको हो ।’
कार्यक्रम समापन गर्दै फेडोकी प्रदेश अध्यक्ष अम्बिका ताम्राकारले स्थानीय तहले दलित महिलालाई अझै प्राथमिकतामा राख्न नसकेको गुनासो गरिन् । ‘केही पालिकाले अहिले दलित महिलालाई पनि समेट्ने प्रयत्न गरेका छन्,’ अध्यक्ष ताम्राकारले भनिन्, ‘तर धेरै पालिकाले अझैपनि दलित महिलालाई समेट्ने प्रयास गरेको पाइदैन, यसमा फेडोको आपत्ती छ ।’
उनले सिंगो दलित समुदाय उत्पिडनमा रहेको भएपनि त्यस भित्र दलित महिला झनै दविएको र हेपिएर बस्नुपर्ने अवस्था भएका कारण उनिहरुलाई तीन वटै सरकारले विशेष कार्यक्रम मार्फत समेट्नुपर्ने बताइन् ।
एफ.जे.एसको सहयोग तथा फेडो कैलालीको आयोजनामा भएको तालिममा अधिबक्ता पुष्पविक्रम शाहीले सहभागि अभियानता महिलालाई सहजिकरण गरेका थिए ।