धनगढी पोष्ट
बुधबार, १४ चैत २०८० मा प्रकाशित
धनगढी । कैलालीको गौरिगंगास्थीत शिवगंगा खोलामा मापदण्ड विपरीत उत्खनन् गर्दै गरेको अवस्थामा जेसिबीसहित टिप्पर नियन्त्रणमा लिइएको छ । जिल्लाको गौरिगंगा नगरपालिका वडा नम्बर ३ स्थित शिवगंगा नदीमा भइरहेको अवैध नदीजन्य सामग्री उत्खनन् प्रयोग भइरहेका सवारी साधन प्रशासनले नियन्त्रणमा लिएको हो ।
राजिवभुगडामा जथाभावी उत्खनन्बारे समाचार प्रकाशन भएपछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र नेतृत्वको टोलीले अनुगमनका क्रममा सवारी साधन नियन्त्रणमा लिएको हो । जिल्ला समन्वय समिति कैलालीका सूचना अधिकारी विमलप्रकाश जोशीले ६ ट्याक्टर, एक टिपर र जेसिबी नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय चौमालामा बुझाइएको जानकारी दिए ।
शिवगंगा खोलामा नदीजन्य पदार्थ उत्खनन् गर्न ठेक्का सम्झौता गरेको विश्वास कन्स्ट्रक्सनले वातावरणीय प्रभाव मूल्यांकनभन्दा बढी र तोकिएको क्षेत्रभन्दा बाहिर गएर नदीजन्य पदार्थ उत्खनन्, संकलन तथा ढुवानी गरिरहेको नगरपालिकाकै अनुगमन प्रतिवेदनमा उल्लेख छ ।
वातावरणीय प्रभाव मूल्यांकन अनुसार सो कम्पनीले कुचौनी घाटमा १५ हजार एक सय २५ घनमिटर र शिवगंगा पुलबाट उत्तरतिर सात हजार आठ सय ७५ घनमिटर नदीजन्य पदार्थ उत्खनन् गर्न पाउने उल्लेख छ । उनका अनुसार सो क्षेत्रमा रहेका सामुदायिक वनभित्र नै नदीजन्य सामाग्री उत्खनन् भइरहेको पाइएको छ ।
दैनिकजसो खोलाबाट ठूल्ठूला ढुङ्गाहरु ट्याक्टरबाट ओसार्ने काम भइरहेको स्थानियले बताएका छन् । विहानैदेखि ट्याक्टर, टिप्परहरु लाम्बद्ध राखिएको हुन्छ । डोजरले नदिजन्य सामाग्री (ढुङ्गा, वालुवा, गिट्टी आदी) टिप्परमा राखिदै आएको छ । गौरिगंगा नगरपालिका वडा नम्बर ३ राजिवभुगडामा पनी यस्तै दृष्य नियमित देखिने गरेको स्थानियको भनाई छ ।