धनगढी पोष्ट
बुधबार, १४ चैत २०८० मा प्रकाशित
धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले एमाले–माओवादी र रास्वपासहितको गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ । बुधबार नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यको बैठकले संघ र प्रदेश सरकारमा नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको हो ।
संस्थापक केन्द्रीय सदस्य रमेश बिकले सबै तहको सरकारमा सत्ता गठबन्धनलाई समर्थन गरेर अघि बढ्ने निर्णय गरेको जानकारी दिए । नाउपाका संस्थापक केन्द्रीय सदस्य तथा टीकापुर नगरपालिका मेयर रामलाल डंगौराका अनुसार यो निर्णयसँगै नयाँ गठबन्धनसँग वार्ता गर्ने र सोही अनुसार सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको छ । २१ जना केन्द्रीय सदस्य मध्ये बैठकमा १२ जना सहभागी थिए ।
प्राविधिक समस्याका कारण केही केन्द्रीय सदस्य बैठक सहभागी हुन नसकेको बिक बताउँछन् । बैठकमा सुदूरपश्चिमका ७ जना सांसदहरु मध्ये पूर्वराज्यमन्त्री कैलाश चौधरी, विना विभागीय मन्त्री लक्ष्मणकिशोर चौधरीको मात्रै सहभागिता रहेको थियो। यसैगरी संस्थापक रेशम चौधरी पनि सहभागी थिएनन् उनी कार्यक्रमका लागी जापानमा रहेका छन् ।