धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

बझाङमा गठबन्धन नगरेरै चुनाव लड्दै सत्ता गठबन्धनका दलहरु

बझाङमा गठबन्धन नगरेरै चुनाव लड्दै सत्ता गठबन्धनका दलहरु

धनगढी । संघीय सरकारमा सहकार्य गरिरहेका दलहरु  बझाङ प्रदेश सभा (१) मा प्रतिस्पर्धामा उत्रिएका छन् । गठबन्धनका दलबीच चुनावी तालमेल हुन नसकेपछिसंघीय सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, सत्ता गठबन्धनको सबै भन्दा ठुलो दल नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले आआफ्ना उम्मेदवारी दर्ता गरेर प्रतिस्पर्धामा उत्रिएका हुन् ।

बैशाख १५ गते हुन गइरहेको निर्वाचनका लागि शनिबार भएको उम्मेदवारी दर्तामा चार वटै दलले आ आफ्ना उम्मेदवारी दर्ता गरेका हुन् । इलाममा  नेकपा माओवादी केन्द्रले एमाले उम्मेदवारलाई समर्थन गरे पनि बझाङमा कसैले अरुलाई समर्थन गरेका छैनन् ।

बझाङ प्रदेश सभा (१) मा बिजयी बनेका कांग्रेसका पृथ्वी बहादुर सिंहको गत असारमा दुर्घटनामा मृत्यु भएपछि  उपनिर्वाचन हुन लागेको हो ।

नेकपा एमालेले जिल्ला अध्यक्ष दमन भण्डारीलाई प्रतिस्पर्धामा उतारेको छ । अघिल्लो चुनावमा प्रतिस्पर्धा गरेका अफिलाल उखेडालाइ नदिएर एमालेले भण्डारीलाई उम्मेदवार बनाएको हो । २०७८को चुनावमा एमालेका उखेडाले १३ हजार ३३६ मत पाएका थिए । नेपाली कांग्रेसका पृथ्वी बहाहुर सिंहले १७ हजार ११२ मत ल्याएर निर्वाचित भएका थिए ।

एमालेको निर्वाचन क्षेत्रीय समन्वय कमिटीमा आकांक्षी ६ जनाबीच मतदान गराउँदा भण्डारीले सबै भन्दा धेरै मत पाएका थिए । ९४ मत प्राप्त गरेर अरू आकांक्षीलाई पछि पारेका भण्डारी उम्मेदवार बनेका हुन् । भण्डारी निर्विरोध जिल्ला अध्यक्ष चयन भएका थिए ।

माओवादी केन्द्रबाट जनक बुढा प्रतिस्पर्धा गर्दैछन् । बुढा माओवादी केन्द्र सुदूरपश्चिमका सचिव समेत हुन् । उनी दोस्रो संविधान सभाका सदस्य पनि हुन् । इलाम–२ मा एमालेलाई सहयोग गर्ने भएकाले बझाङमा माओवादीलाई एमालेले सघाउनु पर्ने बुढाले तर्क गरे । उनले भने, ‘हामीलाई सघाउनुस् भनेका छौं । एमालेले समर्थन नगरे मित्रवत प्रतिस्पर्धा हुन्छ ।’

सत्ता गठबन्धनको अर्को दल नेकपा  एकीकृत समाजवादीले दिल बहादुर सिंहलाई उम्मेदवार बनाएको छ । सिंह एमालेका पूर्व जिल्ला अध्यक्ष समेत हुन्  । उनी तत्कालीन नेकपामा पनि बझाङका जिल्ला अध्यक्ष थिए ।

जनता समाजवादी पार्टीका तर्फबाट राम बहादुर जाग्रीले उम्मेदवारी दर्ता गरेका छन् । जसपाको  कार्यकारिणी समितिको बैठकको निर्णय अनुसार संघीय परिषद् सदस्य जाग्री उम्मेदवार बनेका हुन् । जाग्री २०७९ को निर्वाचनमा पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका जाग्रीले २०३ मत पाएका थिए । उनी जसपाका केन्द्रीय सम्पर्क समितिका अध्यक्ष समेत हुन् ।

यस्तै राष्ट्रिय मातृभूमी पार्टीबाट विनोद बहादुर थापा, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्र बहादुर शाही, नेशनल रिपब्लिक नेपालबाट कमल घर्तीमगर र राप्रपाबाट किशोर कुमार खड्काको उमेदवारी  दर्ता भएको छ ।

यस्तै नेपाल जनता दलबाट अशोक सुनार, संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चबाट दीपक बहादुर खडका र जनमत पार्टीबाट शुसीला देबी विष्टको उमेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।

आइतबार उम्मेदवारको सूची र २७ गते अन्तिम नामावली प्रकाशन गर्ने तथा चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको जिल्ला निर्वाचन कार्यालय बझाङले जनाएको छ ।