धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सुदुरपश्चिमका सभामुखले भने : रञ्जितालाई प्रदेश सभा चिन्दैन

सुदुरपश्चिमका सभामुखले भने : रञ्जितालाई प्रदेश सभा चिन्दैन

धनगढी । सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीम भण्डारीले दलको नेता परिवर्तनको भएको पत्र प्राप्त भए पनि हालसम्म नागरिक उन्मुक्ति सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता घनश्याम चौधरी नै रहेको बताएका छन् ।

उनले भने, ‘प्रदेश सभाले संसदीय दललाई चिन्ने हो, नागरिक उन्मुक्ति संसदीय दलबाट नेता परिवर्तन गरेको कुनै पत्र आएको छैन ।’

सभामुख भण्डारीले दलको नेता परिवर्तन भएको भए दलको सर्वसम्मत वा बहुमत निर्णयसहितको पत्र आउनु पर्ने तर त्यस्तो पत्र अहिलेसम्म नआएको बताए ।

उनले भने,पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले पत्र पठाउनु भएको छ । यो उहाँको पार्टीको आन्तरिक विषय होला । तर यो विषयमा प्रदेश सभाले रन्जिता श्रेष्ठलाई चिन्दैन, दलको निर्णयलाई चिन्छ । त्यसैले यो पत्रको कुनै अर्थ छैन ।’

संसदीय दलको नेताबाट हटाउन पत्र पठाइएका घनश्याम प्रदेशका आर्थिक मामिला मन्त्री समेत हुन् ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्र्टीको प्रदेश संसदीय दलको नेताबाट घनश्याम चौधरीलाई हटाएर आफु पक्षीय अर्का प्रदेश सभा सदस्य कैलाश चौधरीलाई दलको नेता तोकेकी थिइन् ।