धनगढी पोष्ट शुक्रबार, ०५ बैशाख २०८२   April 18, 2025

लम्की चुहा नगरपालिकाको नगर उद्यान निर्माणमा अनियमिता

 

धनगढी

लम्की चुहा नगरपालिकाले निर्माण गरेको नगर उद्यानमा आर्थिक अनियमितता भएको महालेखा परीक्षकको कार्यालयले आशंका गरेको छ ।

आर्थिक बर्ष २०७५÷०७६ मा नगरपालिकाले वडा नम्बर २ र ५ मा पर्ने मोहनलाल सामुदायिक बनमा नगर उद्यान निर्माण गरेको थियो । उद्यानको सुरक्षाका लागि निर्माण गरिएको पर्खालको उचाई कम भएकोले त्यसमा अनियमितता भएको महालेखाले आशंका गरेको हो । महालेखाको ५७ औं बार्षिक प्रतिवेदनको ५६१ नम्बर पेजमा लम्की चुहा नगरपालिकाले निर्माण गरेको उद्यान र पर्खाल निर्माण कार्यमा दोहोरोपना भएको समेत उल्लेख गरिएको छ ।

सो उद्यानमा लम्की चुहा नगरपालिकाका साथै डिभिजन बन कार्यालय पहलमानपुरले पनि रकम खर्च गरेको छ । नगरपालिकाको १ करोड ५० लाख र डिभिजन बन कार्यालयको १४ लाचख रुपैया यस उद्यानमा खर्च गरिएको छ ।

उद्यानको सुरक्षाका लागि भन्दै निर्माण गरिएको पर्खाको उचाई साढे तीन फिट मात्रै रहेकोले सो पर्खालबाट उद्यानको सुरक्षा हुने कुरामा विश्वस्त हुन नसकिएको प्रतिवेदनमा उल्लेख छ । महालेखाले सो पर्खाल र उद्यान निर्माणमा लागेको खर्चको प्रभावकारिता यकिन गर्न सुझाव समेत दिएको छ ।

उद्यान निर्माणका लागि नगरपालिकाले १ करोड ३३ लाख भुक्तानी गरेको छ । एउटै सामुदायिक बनमा निर्माण गर्ने उद्यानका लागि नियम बिपरित दुई वटा उपभोक्ता समिति बनाइएको र उद्यान निर्माण शुरु गर्नभन्दा पहिले नै बिस्तृत परियोजना प्रतिवेदन र गुरुयोजना तयार गरेको हुनुपर्नेमा त्यसो नगरिएको प्रतिवदेनले जनाएको छ ।

एक परामर्शदाता कम्नीलाई उद्यानको सर्भे गरे बाफत ९ लाख ८१ हजार भुक्तानी दिइएको छ । तर त्यो परामर्श कम्पनीले सर्भे प्रतिवेदन बुझाएको छैन् । प्रतिवेदन नबुझाईकनै रकम भुक्तानी गरिएकोले सो रकम समेत अनियमितता भएको हुनसक्ने सम्भावना रहने महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

उपभेक्ता समिति मार्फत काम गर्दा गरिने लागत अनुममनमा उपभोक्ताको योगदानको अंश पनि समावेश गर्नपर्ने खरीद ऐनमा नियम छ । तर दुई वटा उपभोक्ता समिति बनाएर उद्योन निर्माण गरेको नगरपालिकाले कुनै पनि उपभोक्ता समितिको योगदानको अंश लागत अनुमानमा समेटेको छैन ।

निर्माण गरिएको पर्खालको कति क्षेत्रफल कुन उपभोक्ता समितिको भन्ने समेत नखुलाइएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।