धनगढी पोष्ट मङ्गलबार, ०२ बैशाख २०८२   April 15, 2025

खानेपानी, सरसफाई तथा स्वच्छता कायम गर्न  साझा पहल आवश्यक  भएको निष्कर्ष

खानेपानी, सरसफाई तथा स्वच्छता कायम गर्न  साझा पहल आवश्यक  भएको निष्कर्ष

 

धनगढी ।  दिगो बिकासको लक्ष्य प्राप्त गर्न सुदुरपश्चिम प्रदेशका सबै ८८ स्थानीय सरकारहरुमा स्थानीय सरकारको खानेपानी, सरसफाई तथा स्वच्छता योजना निर्माण आर्थिक बर्ष २०८१।२०८२ मा सम्पन्न गर्ने गरि नीति, कार्यक्रम र बजेट व्यवस्था गर्न स्थानीय सरकार, प्रदेश सरकार  र संघीय सरकारले संयुक्त रुपमा  पहल गर्ने सहितका ११ निष्कर्ष निकाल्दै  खानेपानी, सरसफाई तथा स्वच्छता सुशासन  बिषयक सुदुरपश्चिम  प्रदेश स्तरिय अन्तरिक्रया कार्यक्रम धनगढीमा सम्पन्न भएको छ । 

 कार्यक्रमले  नेपाल सन् २०१९ मा नै खुला दिशामुक्त घोषणा भैसकेको अवस्था रहे पनि अझै यो अवस्थालाई दिगो रुपमा कायम राख्नका लागि प्रदेश र स्थानीय सरकारहरुमा खुला दिसामुक्त दिगोपना कार्यविधि तयार गरी कार्यान्वयन गर्न अनुरोध गर्ने, खानेपानी सरसफाई तथा स्वच्छता सम्वन्धी नीतिगत र विधायिकी सहित सुदुरपश्चिम प्रदेशको खानेपानी, सरसफाई तथा स्वच्छता सम्वन्धी आवश्यक ऐन, नियम र कानुन निर्माणको लागि प्रदेश सरकारको भौतिक पुर्वाधार बिकास मन्त्रालयलाई अनुरोध गर्ने निष्कर्ष कार्यक्रमले निकालेको छ ।

सबै स्थानीय सरकारलाई आगामी आवमा खानेपानी, सरसफाई र स्वच्छता, फोहर व्यवस्थापन, दिसाजन्य लेदो व्यवस्थापनको लागि नीति, कार्यक्रम, जनशक्ति र बजेट व्यवस्थापन गर्न अनुरोध गर्ने, खानेपानी, सरसफाई र स्वच्छता सम्वन्धी संविधान प्रदत्त नागरिक हकलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न गराउन संघ, प्रदेश र स्थानीय सरकारद्धारा समुचित बजेट बिनियोजन भइ तहगत सरकारबीचको समन्वय र अन्तर सम्वन्धलाई बलियो बनाउन आवश्यक देखिएकोले सोही बमोजिक उचित व्यवस्थापनको लागि अनुरोध गर्ने निष्कर्ष कार्यक्रमले निकालेको छ । 

खानेपानीको सहज उपलव्धता सहित खानेपानीको गुणस्तरिय परिक्षणल अनुगमनका निम्ति स्थानीय सरकारको क्षमता अभिबृद्धि  र खोनपानी सुरक्षित समुदाय सम्वन्धी नीति कार्यmम र बजेट व्यवस्था र कार्यक्रम कार्यान्वयन गर्न तहगत सरकारमा अनुरोध गर्ने, सुदुरपश्चिम प्रदेशको समग्र बिकास  र बिशेषतः खानेपानी, सरसफाई र स्वच्छता क्षेत्रगत बिकास र सुदृढीकरणका लागि ठोस योजना तर्जुमा गर्नका लागि निम्ति प्रदेश नीति तथा योजना आयोग र  प्रदेश प्रशिक्षण प्रतिष्ठानलाई आग्रह गर्ने निष्कर्ष कार्यक्रमले निकालेको छ ।

गाउपालिका राष्टिय महासंघ नेपालले आयोजना गरेको उक्त कार्यक्रममा   मन्त्री, प्रदेश सभा सदस्य, प्रमुख सचिव, सचिव, गाउपालिकाका अध्यक्ष, कर्मचारी र नागरिक समाजको सहभागिता रहेको थियो ।