धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

कैलालीमा ३५ प्रतिशत पशु चौपायामा लगाइयो खोरेत खोप

कैलालीमा ३५ प्रतिशत पशु चौपायामा लगाइयो खोरेत खोप

धनगढी । कैलालीमा चालु आर्थिक बर्ष २०८०/२०८१ को बैशाखसम्म एक लाख ३६ हजार एक सय पशु चौपायामा खोरेत रोग विरुद्धको खोप लगाइएको छ । खोरेत रोग बिरुद्धको खोप लगाइएको संख्या जिल्लामारहेका पशु चौपायाको ३५ प्रतिशत मात्र हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका अनुसार जिल्लाका १३ वटा पालिकामा गत बैशाख मसान्तसम्म उक्त संख्यामा पशु चौपायाहरुलाई खोरेत बिरुद्धको खोप लगाइएको हो ।

केन्द्रका प्रमुख डा.हेमराज अवस्थी पश चौपायामा लागउनका लागि केन्द्रबाट नै कम खोप आएका कारण जिल्लामा कम पशुचौपायामा खोरेत बिरुद्धको खोप लगाइएको बताउँछन् ।

‘कैलालीमा सबै पशुहरुमा यो खोप लगाउन बार्षिक ८ लाख चाहिन्छ । तर अहिले बार्षिक करिब साढे दुई लाख मात्र आउने गरेको छ ।’ डा.अवस्थी भन्छन् त्यसैले आएको खोपलाई सबै पालिकामा मिलाएर लगाउने गरेका छौं ।’

‘यो खोप भनेको ६÷६ महिनामा लगाउने भएकाले अब असारमा ५० प्रतिशत फेरी खोप लगाउछौँ,’ डा. अवस्थीले भने । उनका अनुसार अहिले ३५ प्रतिशत मात्र पशु चौपायालाई खोप लगाइएको छ । ६५ प्रतिशत पशु चौपायामा खोप लागाउन बाँकी रहेको छ । 

खोरेत रोग भन्नाले गाई, भैँसी, भेडाबाख्रा तथा बंगुर लगायतका खुरफट्टापशुमा लाग्ने भाइरल रोग रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख डा.हेमराज अवस्थीले बताए । पशु चौपायमा खोरेत रोग लाग्यो भने ठिक नहुने र भाइरस रोग भएकाले एक अर्कामा सर्ने गरेको उनले बताए । 

खोरेत रोग निर्मुल पार्ने उपाय भनेको खोप मात्रै रहेको उनले बताए । अवस्थीका अनुसार खोरेत रोग लागेका पशु चौपायामा खुट्टामा घाउ हुने, मुख पाक्ने, ¥याल आउने, जिब्रोमा घाउ समेत हुने गरेको छ । उनका अनुसार साना पशु चौपायामा यो रोग लाग्यो भने मर्ने समेत गरेका छन् । 

चालु आर्थिक वर्षमा पशु चौपायामा लगाइएको खोरेत रोग विरुद्धको खोप गत वर्षको तुलनामा भन्दा कम खोप लगाइएको हो । गत आर्थिक वर्ष एक लाख ९० हजार ६ सय ६१ पशु चौपायामा खोरेत विरुद्धको खोप लगाइएको थियो । प्रयाप्त मात्रामा भ्याक्सीन नहुँदा गत वर्षको तुलनामा यस वर्ष कम खोप लगाइएको डा. अवस्थीले बताए ।

आर्थिक वर्ष २०७७÷०७८ मा एक लाख ५२ हजार २८ पशु चौपायामा खोरत रोग विरुद्धको खोप लगाइएको थियो भने आर्थिक वर्ष २०७८÷०७९मा ६१ हजार दुई सय ६० पशु चौपायामा खोरेत विरुद्धको खोप लगाइएको छ । 

जिल्लामा १३ स्थानीय तहमध्य सवै भन्दा बढी कैलारी गाउँपालिकाका पशु चौपायामा खोरेत रोग विरुद्धको खोप लगाइएको हो ।  चालु आर्थिक वर्षमा कैलारी गाउँपालिकामा २० हजार पशु चौपायामा खोरेत रोग विरुद्धको खोप लगाइएको छ भने सबै भन्दा कम मोहन्याल गाउँपालिकामा चार हजार ६ सय पशु चौपायमा खोरेत रोग विरुद्धको खोप लगाइएको छ । 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका अनुसार जोशीपुर गाउँपालिकामा १८ हजार पशु चौपायामा खोरेत विरुद्धको खोप लगाइएको छ । 

यस्तै चालु आर्थिक वर्षमा गौरीगंगा नगरपालिकामा १५ हजार, टिकापुर नगरपालिकामा दश हजार, चुरे गाउँपालिकामा दश हजार, लम्कीचुहा नगरपालिकामा दश हजार, भजनी नगरपालिकामा दश हजार, गोदनवरी गाउँपालिकामा नौ हजार नौ सय, जानकी गाउँपालिकामा आठ हजार, बर्दगोरिया गाउँपालिकामा सात हजार, घोडाघोडी नगरपालिकामा सात हजार र धनगढी उपमहानगरपालिकामा  ६ हजार ६ सय पशु चौपायामा खोरेत रोग विरुद्धको खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाइएको छ ।