धनगढी पोष्ट
शुक्रबार, ११ जेठ २०८१ मा प्रकाशित
काठमाडौं । नेपालमा पुनः कोभिड– १९ को नयाँ भेरियन्ट देखिएको छ। हाल विभिन्न देशहरूमा देखिइरहेको ‘केपी.१’ र ‘केपी.२’ नामक दुईवटा नयाँ भेरियन्ट नेपालमा पनि पुष्टि भएको हो।
हाल देखिएका यी भेरियन्टहरू ओमिक्रोनका नयाँ सबभेरियन्ट भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ। प्रयोगशालाका अनुसार गएको दुई महिनायता देशभर कोरोना संक्रमण देखिएका ४० नमुनाको जिन सिक्वेन्सिङ गर्दा १२ जनामा ओमिक्रोन भेरियन्टको सबभेरियन्ट ‘केपी.१’ र १७ जनामा ‘केपी.२’ पुष्टि भएको हो।
भारत, चीन, थाइल्यान्ड, सिंगापुर, अस्ट्रेलिया, न्युजिल्यान्ड र बेलायतमा समेत पछिल्लो समय फैलिइरहेको यो भेरियन्ट निकै संक्रामक मानिएको छ। यी भेरियन्टहरूले गत डिसेम्बरमा सिंगापुरको कोभिड संक्रमणको लहर नै ल्याएको थियो।
भारतमा गत जनवरीमा मात्रै पुष्टि भए तापनि संक्रमण बढी नदेखिएको बताइएको थियो। तर, अमेरिकामा भने गत मेमा कुल संक्रमणको २८ प्रतिशतमा केपी.१ र केपी.२ पुष्टि भएको थियो।
संक्रमण फैलिएका यी देशहरूले नयाँ भेरियन्टहरू बढी संक्रामक भए पनि अत्यधिक जोखिमपूर्ण भने नदेखिएको बताउँदै आएका छन्।