धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

कार्यकर्तामुखी योजना भएको भन्दै थलारामा कांग्रेसको विरोध

धनगढी

 बझाङको थलारा गाउँपालिकाले ल्याएको बजेट कार्यकर्ता मुखी भएको भन्दै प्रतिपक्षी दल नेपाली कांग्रेसले बिरोध जनाए पछि गाउँपरिषद स्थगित भएको छ ।

 गाउँपालिकाले अषाढ १० गते नीति तथा कार्यक्रम पेस गरेको थियो भने असार मसान्तमा मात्रै बजेट लायएको हो । तर सो बजेट कार्यकर्ता मुखी भएको भन्दै नेपाली कांगे्रसबाट निर्वाचित जनप्रतिनिधीहरुले बिरोध जनाउँदै आएका छन् । जसका कारण थलारा गाउँपालिकाको नीति तथा कार्यक्रम हाल सम्मपनि नगरसभाबाट पारित हुन सकेको छैन ।

 काँग्रेस समर्थित जनप्रतिनिधिले गाउँसभामा आफ्नो कुराको सुनुवाइ नभएपछि दबाबका लागि पार्टीको साथ लिएर कार्यालयमा विरोध समेत जनाएका छन् । थलारा२ का वडाध्यक्ष हेम खड्काले  काँग्रेसबाट निर्वाचित सदस्यको बेवास्ता गर्दै आफूखुशी मनोमानी ढङ्गले कार्यकर्ता र आफ्ना मान्छेलाई मात्र योजना वितरण गरिएको आरोप लगाए । 

 नौ वडा रहेको गाउँपालिकामा प्रत्येक वडामा ४० लाख बजेट दामासाहीले छुट्याइएको र अन्य सबै बजेट गाउँपालिका अध्यक्ष लगायत अन्य प्रतिनिधिले गुपचुप रुपमा बाँडफाँट गरेको काँग्रेस समर्थित जनप्रतिनिधिको आरोप छ । गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायले विकास बजेट रु ११ करोड जति भएको, यसमा दुई करोड जति म्याचिङ फन्ड गएको तथा बाँकी रु ४०÷४० लाख वडालाई विनियोजन गरी विषयगत शाखालाई बजेट राख्दा ठीकै भएको बताए ।

 उनले भने–‘काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि ले आफ्नो वडाका लागि १ करोड बजेट माग गरेका थिए, हामीले कसैलाई काखा र कसैलाई पाखा किन लगाउने ? आफूले स्थानीय सरकार प्रमुखको हैसियतले सुशासन, पारदर्शिता र जवाफदेहितालाई जोड दिएको बताउँदै उपाध्यायले भ्रष्टाचार र भ्रष्टाचारजन्य कार्य गरे कसैलाई क्षम्य नहुने दृढता व्यक्त गरे ।