धनगढी पोष्ट
शुक्रबार, १८ जेठ २०८१ मा प्रकाशित
धनगढी । सुुदूरपश्चिममा आगामी आर्थिक बर्षमा पनि चालु आर्थिक बर्षकै हाराहारीमा बजेट आउने आर्थिक मामिला मन्त्रालयका सचिव कमान सिंह खत्रीले बताएका छन् ।
‘गत बर्ष बजेटको साइज सानो बनाएकोले यस पटक हामीलाई सजिलो भएको छ ।’ सचिव खत्रीले धनगढी पोष्टसँग भने, ‘त्यसैले हामीलाई बजेटको आकार घटाउनु पर्न दवाव छैन् । बजेट चालु आर्थिक वर्षकै हाराहारीमा आउँछ ।’
सुदूरपश्चिम प्रदेशमा उच्च आर्थिक अनुशासन पालना गरिएको बताउँदै सचिव खत्रीले यसपटक पनि आर्थिक अनुशासनको पालना गरेर बजेटको निर्माण हुने बताए ।
सचिव खत्रीले भने ‘बजेट सानो ठुलो बनाउने स्पेस हामीसँग छैन यस बर्ष कति खर्च हुन्छ भन्ने कुराले पनि बजेटको आकार निर्धारण गर्छ ।’
‘यो वर्ष खर्च हुने ठाउँमा मात्रै विनियोजना गछौँ,’ सचिव खत्रीले भने । बजेट विनियोजनामा चासो भए पनि पछि गएर खर्चमा चासो नदेखाउने परीपाटी रहेको उनले बताए ।
यो वर्ष खल्तिको योजना नभई छलफलबाट योजनाहरु आउन भने आफूहरुको चाहाना रहेको उनले बताए । संघीय सरकारले दिने बजेटको आकार नघटेकोले पनि बजेटको आकार कम गर्न दवाव नरहेको सचिव खत्रीले बताए ।
खत्रीका अनुसार यद्यपि सरकारको दायित्व बढी रहेकोले त्यसको असर सम्वन्धित मन्त्रालयका नया आयोजनामा केही असर गर्न सक्नेछ ।
चालु आव २०८०÷०८१ का लागि सुदूरपश्चिममा २९ अर्ब २६ करोड ३३ लाख बराबरको बजेट ल्याइएको थियो । विभागिय मन्त्री नहुँदा अहिले मुख्यमन्त्रीको माग दर्शनमा र निर्देशनमा अगाडि बढिरहेको उनले बताए ।
नयाँ बजेट निर्माणको चरण पुसदेखि नै सुरु हुने भएकाले गर्दा आयव्यायको आकल्न गरेर संघीय अर्थ मन्त्रालयमा पठाएको भए पनि मन्त्रालयले विभिन्न सिलिङ फागुन भित्रै पठाइसकिएको उनले बताए ।
प्रदेश सरकारको बजेटको आंकलनका आधारमा सबै मन्त्रालयमा बजेट सिलिङ बढाइसकेकोले सबै मन्त्रालयहरु सँग बसेर बजेटका विषयमा छलफल गरिरहेको सचिव खत्रीेले बताए ।
‘मन्त्री ज्यु नहुँदा केही कुराहरुमा अफट्यारो हुने गरेको छ,’ सचिव खत्रीले भने । निती तथा कार्यक्रमको पनि तयारी गरिरहेको उनले बताए । ‘मन्त्री ज्यु हुँदा अझै बढी सजिलो हुन्थ्यो ।
केही अफट्यारो त छ र पनि अफट्यारोको बिचमा पनि मुख्यमन्त्रीको निर्देशनमा अगाडि बढि राखेका छौँ,’सचिव खत्रीले भने ।