धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

धनगढीमा खानेपानीको अभाव

धनगढीमा खानेपानीको अभाव

धनगढी । लामो समयको खडेरीका कारण धनगढीमा खानेपानीको चरम अभाव भएको छ । जमिन मुनि पानीको सतह सुकेपछि खानेपानीको चरम अभाव भएको हो ।

अत्यधिक गर्मी सँगै विद्युतको समस्याले गर्दा पनि खानेपानीको समस्या देखिएको खानेपानी संस्थान कार्यालय धनगढीका प्रमुख शैलेन्द्र कुमार शाहले बताए । 

‘विद्युतको भोल्टेज कम बढी भई राख्छ,’ उनले भने, ‘हामीहरुलाई त्रिफेज मोटरहरु चल्नको लागि भोल्टेज ३५०÷४०० चाहिन्छ यो भन्दा कम हुनुहँुदैन । हामीलाई कममा ४ सय भोल्टेज चाहिन्छ कहिले काही प्रयाप्त पुग्दैन ।’ 

मुख्य समस्या भनेको भोल्टेज र नियमित विद्युत नहुँदा समस्या नै रहेको उनले बताए । तीन महिनादेखि धनगढीका उपभोक्ताले खानेपानीको समस्या झेलिरहेका छन् । धनगढीमा अझै ७० प्रतिशत घर धुरी नलको पानी प्रयोग गरिरहेका छन् ।

धनगढी लगायत तराईका जिल्लामा चैत, वैशाख र जेठ महिनामा लामो समयसम्म वर्षा नहुँदा खानेपानीको समस्या उत्पन्न हुने गरेको छ । धनगढी उपमहानगरका १९ वटा वडामा ३२ हजार दुई सय ४९ घरधुरी रहेका छन् ।

ती घरमा ४६ हजार ६ सय७० घरपरिवार बस्दै आएका छन् । जसमध्य नौ हजार एक सय ७२ घरपरिवारमा मात्र धाराको खानेपानीको पहुँच पुगेको छ। 

शाहका अनुसार खानेपानीको रिजर्भ ट्याङ्की दुई वटा अहिले थप गरेपनि ट्याङ्कीमा पानी रिजर्भ रहँदैन ।गर्मी धेरै भएकोले पानीको माग धेरै छ खानेपानीकै लाइन वितरण गरिएका केही वडाहरूमा पानी कम वितरण भइरहेको उनले स्वीकार गरे ।

विकास निर्माणका कामले गर्दा पनि पाइप लाइमा क्षती पुग्दा समस्या हुने गरेको उनले बताए । ‘सडक खन्दा पाइप फुट्ने र समयमै मर्मत गर्न नसक्दा पनि समस्या हुने गरेको छ,’ उनले भने । 

धनगढी उपमहानगरको घरधुरी सङ्ख्याको आधारमा धनगढी उपमहानगरका २३ हजार दुई सय ४९ घर परिवार अझै स्वच्छ खानेपानीको पहुँचबाट बाहिर छन् ।

गाउँतिर समस्या अलि कम भएपनि धनगढी बजार क्षेत्रमा भने खानेपानीको निकै समस्या बढेको छ । खानेपानी धारामा नआउँदा पानी खरिद गरेर खान पाउने विकल्प छैन । विकल्प नहुँदा समस्या अझै बढने देखिन्छ ।

टोलमा सार्वजनिक खानेपानीका धारा छैन जमिनको पानी समेत सुके पछि तीन महिनादेखि धनगढीका बासिन्दाले खानेपानीको सास्ती झेल्नु परेको छ । दिनभरी खानेपानी आउने धारामा समेत आज भोलि एक दुई घण्टा मात्र पानी आउने गरेको छ ।