धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

प्रचण्डको निर्देशन : खगराजलाई दलको नेतामा पुनस्थापित गर्नु

प्रचण्डको निर्देशन : खगराजलाई दलको नेतामा पुनस्थापित गर्नु

धनगढी । प्रधानमन्त्री एवंम् नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् ।

प्रदेश सरकार विस्तारका विषयलाई लिएर माओवादी भित्र देखिएको विवादलाई लिएर दाहालले मंगलबार प्रदेश सभा सदस्यहरूसँग संघीय राजधानी काठमाडौंमा छलफल गरेका हुन् ।

उनले पार्टी स्थायी कमिटी सदस्य समेत रहेका खगराज भट्टलाई दल नेतामा पुर्नस्थापित गरेर प्रदेशमा पार्टीलाई एकताबद्व बनाउन निर्देशन दिए ।

बैठकमा सहभागी सांसद रमेशसिंह धामीका अनुसार प्रचण्डले पार्टीको सुदूरपश्चिममा भइरहेको गतिविधिबारे चासो व्यक्त गर्दै समस्या हल गर्न भनेका छन् ।

भट्ट पार्टीको वरिष्ठ नेता पनि भएकाले उनलाई दल नेतामा पुर्नस्थापित गर्न सुझाव दिएको धामीले बताए । 

बैठकमा सहभागी सुदूरपश्चिमका बिना विभागीय मन्त्रीसमेत रहेका उपनेता अक्कलबहादुर रावलले अध्यक्षले पार्टीलाई एकताबद्ध बनाउन उक्त सुझाव दिएको तर निर्णय भइनसकेको बताए ।

सुदूरपश्चिममा गत १२ माघमा बहुमत प्रदेश सभा सदस्यले भट्टलाई दल नेताबाट हटाएर मानबहादुर धामीलाई चयन गरेका थिए । भट्टलाई संसदीय दलमा दल नेता भन्दा माथिल्लो बरियता दिएपछि विवाद मिलेको जस्तो देखिएको थियो ।

तर २८ जेठमा सरकार विस्तार गर्ने क्रममा धामीले एकलौटी मन्त्रीको नाम सिफारिस गरेपछि विवाद चर्किएको थियो । धामीले संसदीय दलको बैठक छलेर मन्त्रीको नाम सिफारिस गरेको भन्दै पाँच जनाले मुख्यमन्त्रीलाई नियुक्त नगर्न पत्र नै बुझाएका थिए ।

तर मुख्यमन्त्रीले धामीले सिफारिस गरेअनुसार नै अक्कल रावल, लक्ष्मी बिक र ओमबिक्रम भाटलाई मन्त्री बनाएका थिए ।