धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

कार्यक्रम पुस्तिका नल्याउदा शंका गर्ने ठाउँ छ : शाह

कार्यक्रम पुस्तिका नल्याउदा शंका गर्ने ठाउँ छ  : शाह

धनगढी । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदिय दलले प्रदेश सरकारले बजेट फेल हुने डरले बजेटको कार्यक्रम पुस्तिका (रेडबुक) सार्वजनिक गर्ने नसकेको आरोप लगाएको छ ।

प्रदेश संसदिय दलले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै बजेट सार्वजनिक भएको १० दिन सम्म पनि बजेटको कार्यक्रम पुस्तिका (रेडबुक) सार्वजिक नहँुदा सरकारको नियत माथि शंका लागेको बताएको छ ।

‘बजेट प्रस्तुत भएको १० दिनभइसक्यो, अहिलेसम्म बजेटको कार्यक्रम पुस्तिका किन आएन ?” संसदिय दलका नेता एवं निबर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले भने, ‘यसभित्र धेरै प्रश्नहरू लुकेका छन् ।’ 

सुदूरपश्चिम सरकारले असार १ गते आर्थिक वर्ष २०८१÷०८२ का लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार बराबरको बजेट ल्याएको थियो । बजेट आएको दश दिन बितिसके पनि सुदुरपश्चिम प्रदेश सभामा अझै बजेटबारे छलफल शुरु भएको छैन । सरकारले बजेटको कार्यक्रम पुस्तिका पनि ल्याएको  छैन । 

नेता शाहले भने, ‘कतै मनपरी ढंगले योजनाहरू परेका त छैनन् ? कतै विचौलियाहरू बढी नै हावी त भएका होइनन् ? अथवा गठबन्धनका दलहरूबीच भागबण्डा नमिलेर त होइन ?

शाहले बजेट प्रस्तुत भएको दुई दिनपछि आर्थिक मामिला मन्त्रालयका सचिवको सरुवामा पनि प्रश्न उठेको बताए  । शाहले भने ‘मनपरी ंढंगले योजनाहरू हालेको विषयमा सचिवबाट असहमति भएपछि त कतै सरुवा गरिएको होइन, यसको जवाफ सरकारले दिनुपर्छ ?

नेता शाहले सरकारले बजेटको आकार बढाइएकोमा पनि पुनः असहमति व्यक्त गरेका छन् । उनले भने, ‘सवा दुई अर्ब बढीको बजेट ल्याइएको छ । १२ सय बढी योजना बिना शिर्षक राखिएको हामीसँग प्रमाण छन् ।’ उनले वर्तमान सरकारले ल्याएको आगामी वर्षको बजेटमा नीति तथा योजना आयोगको दिग्दर्शन र योजना बैंकको व्यवस्था र मर्मलाई लत्याइएको आरोप लगाए ।

काँग्रेसले मन्त्रालय फुटाउने वा संख्या बढाउने सरकारको निर्णयलाई विरोध गर्दै आएको छ । ‘जनताले प्रदेश संरचना नै आवश्यक छैन भनिरहेको वेला मन्त्रालयको संख्या बढाएर व्ययभार थप्ने कार्य हामीलाई कदापि स्वीकार्य छैन,’ नेता शाहले भने ।

काँग्रेसले प्रदेश सरकारको बजेट कार्यक्रम (रेडबुक) आउन ढिलो हुँदा स्थानीय तहहरूको बजेट समेत प्रभावित भइरहेको दाबी गरेको छ । नेता शाहले भने, ‘रेडबुकमा स्पष्टसँग स्थानीय तहका योजना तथा बजेटको व्यवस्था गरिएको हुन्छ । तर, ढिलो हुँदा निश्चित रुपमा उनीहरूको बजेट कार्यक्रम प्रभावित हुन्छ ।’

उनले फागुन यता सरकार र प्रदेश सभाले नियमित गर्ने काम कार्वाही प्रभावित भइरहेको बताए । उनले भने, ‘नयाँ गठबन्धनको सरकार बनेपछि खासगरी विकास निर्माण प्रभावित भैरहेको छ, मन्त्री मन्त्रालय विहिन, मन्त्रालय मन्त्री विहिन छन, अनि कसरी काम हुन्छ ?

उनले मन्त्रालय फुटाउने कुरामा काँग्रेसको असहमति रहेको बताए । उनले भने, ‘मन्त्रालय बिभाजन गरेर सरकार टिकाउने काम राम्रो होईन, त्यसले खर्च मात्र बढाउने छ ।’ काँग्रेसले शसक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने समेत उनले बताए ।