धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

गण्डकी प्रदेशका सांसद फणीन्द्रले पाए संसद्‌मा प्रवेश

गण्डकी प्रदेशका सांसद फणीन्द्रले पाए संसद्‌मा प्रवेश

काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेशका निलम्बित सांसद फणीन्द्र देवकोटाको पक्षमा अन्तरिम आदेश जारी गरेपछि उनले शुक्रबार पहिलो पटक संसद्‌मा प्रवेश पाएका छन्।

यस अघि बिहीबारको बैठकमा भने उनलाई तयारी नपुगेको भन्दै संसद् प्रवेशमा रोक लगाइएको थियो।मिडियाले आलोचना गरेपछि शुक्रबारको बैठकमा उनलाई प्रवेश दिइएको हो।

शुक्रबारको बैठकमा गण्डकी प्रदेशका  सभामुख कृष्ण धितालले सर्वोच्चबाट प्राप्त पत्र पढेर सुनाएका थिए।

फ्लोर क्रस गरेर नेपाली कांग्रेसका मुख्यमन्त्रीका उम्मेदवारलाई मत दिएपछि आफ्नो निर्वाचन चिह्नबाट उठेको उम्मेदवार आफ्नो संसदीय दलको सदस्य भएको र दलले जारी गरेको ह्विप उल्लङ्घन गरेको भन्दै माओवादीले  देवकोटालाई कारबाही गरेको थियो।  

उनी गोरखा निर्वाचन क्षेत्र २ को १ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए। माओवादीको निर्वाचन चिह्न लिएर उठे पनि उनले आफू नेपाल समाजवादी पार्टीको उम्मेदवार भएकाले स्वतन्त्र हुने दाबी गर्दै आएका थिए।

उनले यही कारण आफूले मन लागेको मुख्यमन्त्रीको उम्मेदवारलाई मत दिन पाउने तर्क गर्दै सर्वोच्चमा  रिट दायर गरेका थिए।

सर्वोच्चले उनको पक्षमा आदेशपछि उनको सांसद पद जोगिएको थियो। गण्डकी प्रदेशका ६० सदस्य प्रदेशमा बहुमत पुर्‍याउनका लागि नेपाली कांग्रेसले देवकोटाको मत लिएको थियो।