धनगढी पोष्ट
आइतबार, १६ असार २०८१ मा प्रकाशित
धनगढी ।बिना बिभागीय मन्त्रीहरुलार्य जिम्मेवारी दिन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले चार मन्त्रालय फुटाएका छन् । सोडारीले सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएका हुन् ।
मन्त्रालय फुटाएपछि सुदुरपश्चिममा मन्त्रालयको संख्या १० पुगेको छ । फुटाउनु अघि ७ मन्त्रालय थिए । बिना बिभागीय मन्त्री बनाएको करिब तीन हप्तापछि मुख्यमन्त्रीले उनीहरुलाई जिम्मेवारी दिन लागेका हुन् ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी विकास मन्त्रालयका महाशाखा एकअर्कामा गाभ्दै नयाँ मन्त्रालय बनाइएको छ । जसमा वन वातावरण तथा सहकारी मन्त्रालय, कृषि तथा भूमि सुधार मन्त्रालय, उद्योग वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रालय बनाइएको छ ।
सामाजिक विकास मन्त्रालय फुटाएर शिक्षा युवा तथा खेलकुद र स्वास्थ महिला तथा बालबालिका मन्त्रालय बनाइएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामिला मन्त्रालयलाई भने यथावत राखिएको छ ।
मुख्यमन्त्री सोडारीले आइतबार नै विना विभागीय मन्त्री रहेका माओवादी केन्द्रका संसदिय दलका उपनेता अक्कल बहादुर रावललाई जलस्रोत तथा सहरी विकास मन्त्रालय र एमालेका बीर बहादुर थापालाई वन वातावरण तथा सहकारी मन्त्रालयको जिम्मेवाी दिएका छन् ।
त्यस्तै नेकपा एमालेका हिरा सार्कीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, माओवादी केन्द्रकै लक्ष्मी विकलाई शिक्षा युवा तथा खेलकुद मन्त्रालय र एकीकृत समाजवादीकी माया पन्तलाई उद्योग वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
यसअघि भौतिक पुर्वाधार बिकास मन्त्री रहेका नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहेकी टीका थापालाई कृषि तथा भूमि सुधार मन्त्रालय, सामाजिक बिकास मन्त्री रहेका माओवादी केन्द्रका ओमविक्रम भाटलाई स्वास्थ्य महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
सोडारीले कार्यविभाजन गरेको पत्र प्रदेश प्रमुख नजिर मियाँलाई पठाएका छन् ।