धनगढी पोष्ट
सोमबार, २४ असार २०८१ मा प्रकाशित
धनगढी । महाकाली नदीले खतराको सतह नाघेपछि शारदा ब्यारेजका सबै ढोका खोलिएका छन् । अविरल वर्षापछि नदीमा पानीको बहाव उच्च भएपछि भारतले नेपालतर्फका २४ वटै ढोका खोलिदिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले महाकालीमा पानीको बहाव दुई लाख ४० हजार क्युसेक नाघेपछि शारदा ब्यारेजका नेपालतर्फका सबै ढोका खोलिएका हुन् ।
उनका अनुसार शनिबार आधार भन्दा बढी ढोका खोलिएकोमा आइतबार बहाव बढेपछि सबै ढोका खोलिएका हुन् ।
महाकाली नदीका नेपाल तर्फका सबै ढोका खोलिएपछि राति तटीय क्षेत्रमा बाढी बस्तीतिर पसेको थियो तर अहिले बहाव घट्दो क्रममा रहेकाले जोखिम कम भएको प्रहरीले जनाएको छ ।
यसैबीच जगबुढा नदी थुनिएपछि दोधाराचाँदनी नगरपालिकाको कुतियाकभर क्षेत्रका बासिन्दा प्रभावित भएका छन् ।
नदी थुनिदा भंगालोमा फसेका ४० परिवारका एक सय जनालाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।