धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

कैलारी र भजनी जलमग्न

कैलारी र भजनी जलमग्न

धनगढी । कैलालीको कैलारी गाउँपालिका र भजनी नगरपालिकाका अधिकांश गाउँ जलमग्न भएका छन् ।

कैलारी गाउँपालिका–५ का पुरानो मनिकापुरका १५ परिवार र पुरानो बहिसपुर १५ परिवार, वडा नम्बर ७ को बड्का वसन्ता र छुट्की बसन्ता गाउँ डुबानमा छन् ।

बडैपुरबाट आउने कटैनी नदीको बाढी गाउँमा पसेको कैलारी गाउँपालिका अध्यक्ष रामसमझ चौधरीले बताएका छन् । जोखिममा परेकालाई मध्यरातमा सुरक्षित स्थलतर्फ सारिएको उनले बताए ।

यता, भजनी नगरपालिकाका सबै वडाका बासिन्दा डुबानबाट प्रभावित भएको नगरप्रमुख केवल चौधरीले बताए । कति घर डुबानमा छन् भन्ने यकिन नभइसकेको उनले बताए ।

आइतबार राति नै सुरक्षाकर्मीहरूले डुबानमा परेकालाई तीन वटा डुंगाबाट सुरक्षित स्थलमा सारेको कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए ।

उनका अनुसार रातिको तथ्यांकअनुसार १४१ परिवारका ५९१ जना विस्थापितलाई नजिकका विद्यालयमा सारिएको छ ।

अझै पनि कैलालीका विभिन्न नदीको सतह जोखिमको तह आसपास रहेको प्रजिअ मिश्रले बताए । ‘विस्तृत अवस्था अहिले थाहा हुनेछ,’ उनले भने ‘अवस्थाअनुसार अन्य व्यवस्थापकीय सहयोग गर्ने तयारी छ ।’