धनगढी पोष्ट
शनिबार, २९ असार २०८१ मा प्रकाशित
धनगढी । नेपाली कांग्रेस सुदुरपश्चिम संसदिय दलका नेता एवम पुर्व मुख्यमन्त्री कमल बहादुर शाहले अल्पमतमा परिसकेका कारण वर्तमान मुख्यमन्त्री दिर्घ बहादुर सोडारीले राजीनामा दिएर निकास दिनुपर्ने बताएका छन् ।
‘‘यो सरकारले कुनै पनि किसिमले बिश्वासको मत लिन सक्ने वातावरण देखिएको छैन ।’ कांग्रेस एमालेको गठबन्धनले शनिबार धनगढीमा गरेको पत्रकार सम्मेलनमा शाहले भने ‘त्यसैले माननीय मुख्यमन्त्री दिर्घ बहादु सोडारीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनु पर्छ ।’
बजेट आएदेखि हालसम्म बजेटका बारेमा छलफल नै नभएको, नयाँ आर्थिक बर्ष आउन लागिसक्दा पनि बजेट पारित नभएको कारण असहज अवस्था आउन नदिन राजीनामा दिएर निकास दिनु आवश्यक रहेको पुर्व मुख्यमन्त्री शाहले बताए ।
एमालेले सुदुरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लगिसकेपति बर्तमान मुख्यमन्त्री सोडारीको तत्काल राजीनामा कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीेले माग गर्दै आएका छन् ।
नेकपा एकीकृत समाजवादीलाई समर्थन गरेको सबै भन्दा ठुलो दल नेकपा एमालेले समर्थन फिर्ता लिइसकेपछि अल्पमतमा परिसकेकोले राजीनामा दिनु पर्ने शाहले बताए ।
नागरिक उन्मुक्ति पार्टीका संसदिय दलका नेता घनश्याम चौधरीले वर्तमान सरकार अल्पमतमा परेको र बजेट पारित नभैसकेकोले मुख्यमन्त्री दिर्घ बहादुर सोडारीले तत्काल राजीनामा दिनु पर्ने बताए ।
एक महिना भित्र बजेट पारित गर्नु पर्ने व्यवस्था रहे पनि हालसम्म बजेटबारे कुनै छलफल नगरेर अलमलमा पारेकोले राजीनामा दिएर मार्ग प्रशस्त गर्नु पर्ने चौधरीले बताए ।
नेकपा एमाले संसदिय दलकी उपनेता सन्तोषी थापा शमाले दिर्घ सोडारी नेतृत्वको सरकार एमालेको समर्थनमा बनेको र एमालेले समर्थन फिर्ता लिइसकेकोले अलप्मतमा परिसकेकोले मुख्यमन्त्री सोडारीले तत्काल राजीनामा दिनु पर्ने बताइन् ।