धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

कांग्रेसद्वारा बेलौरी नगरपालिकामा अनिश्चितकालीन तालाबन्दी

कांग्रेसद्वारा बेलौरी नगरपालिकामा अनिश्चितकालीन तालाबन्दी

 

कंचनपुर

    कोरोना नियन्त्रणमा भएको खर्च विवरण सार्वजनिक  लगायतको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कंचनपुरको बेलौरी नगरपालिकामा अनिश्चितकालिन तालाबन्दी गरेको छ ।

   कोरोना नियन्त्रणमा भएको खर्च संगै नगर भित्रका योजना निर्माणमा भइ रहेका भ्रष्टाचार, नगरपालिकाका ईन्जिनियरले गरेको राजिनामा प्रकरण लगायतका बिषयमा पटकपटक ध्यानाकर्षण गरे पनि सुनुवाइ नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार नगरपालिकामा अनिश्चितकालिन तालाबन्दी गरेको हो ।  नेपाली कांगेसका बेलौरी नगर छायाँ सरकारका प्रमुख तथा प्रमुख  हरेन्द्र सिंह विष्टको नेतृत्वमा नगरपालिकाको कार्यालयमा ताला लगाइएको हो ।

   नगरप्रमुख पोतिलाल चौधरीलाई पटक पटक विकास निर्माणका काममा ध्यानाकर्षण गराउँदा समेत नगरप्रमुख चौधरीले आफ्ना कार्यकर्ता पालनपोषण गर्न बाहेक अरु केहि नगरेकाले नगरपालिकाका कार्यालयमा तालाबन्दी गरिएको नेपाल कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति गोपि प्रसाद उपाध्यायले बताए ।

   तालाबन्दी अघि कांगे्रसले बेलौरी बजार परिक्रमा गरि नाराबाजी समेत गरेका छन् । विरोध कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले नगरप्रमुख चौधरीका विरुद्धमा नाराबाजी समेत गरेका थिए । नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले छलफलमा बसेर समस्या समाधान गरिने बताए  ।