धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

धनगढी उपमहानगरपालिकाद्वारा सात सामुदायिक विद्यालय पुरस्कृत

धनगढी  उपमहानगरपालिकाद्वारा सात सामुदायिक विद्यालय पुरस्कृत

धनगढी उपमहानगरपालिकाले उत्कृष्ट सात वटा सामुदायिक विद्यालयलाई सम्मानसहित पुरस्कृत गरेको छ । धनगढी उपमहानगरपालिका र उपमहानगर भित्र सञ्चालित ६८ वटा सामुदायिक विद्यालय बिच भएको कार्यसम्पादन सम्झौता अनुसार मासिक रुपमा उत्कृष्ट काम गर्ने सात वटा विद्यालयलाई सम्मानपत्र सहित पुरस्कृत गरेको हो ।

२०८१ बैशाख महिनाको उत्कृष्ट विद्यालय श्री शारदा माध्यमिक विद्यालय धनगढी वडा नम्बर २ लाई सम्मानपत्र सहित १५ रुपैयाँ प्रोत्साहन उपलब्ध गराइएको छ ।

जेठ महिनामा माध्यमिक विद्यालयतर्फ श्री पञ्चोदय माध्यमिक विद्यालय धनगढी वडा नम्बर ५, आधारभूत तह कक्षा ८ सम्म सञ्चालित विद्यालयहरुमध्ये श्री सरस्वती आधारभूत विद्यालय धनगढी वडा नम्बर १ र आधारभूत तह कक्षा ५ सम्म सञ्चालित विद्यालयहरुमध्ये श्री जनजागृति आधारभूत विद्यालय धनगढी वडा नम्बर १५ उत्कृष्ट विद्यालय हुन सफल भएका थिए ।

 २०८१ असार महिनामा माध्यमिक विद्यालयतर्फ श्री सिद्धनाथ माध्यमिक विद्यालय धनगढी वडा नम्बर १२, आधारभूत तह कक्षा ८ सम्म सञ्चालित विद्यालयहरुमध्ये श्री न्यू कालिका आधारभूत विद्यालय धनगढी वडा नम्बर १७ र आधारभूत तह कक्षा ५ सम्म सञ्चालित विद्यालयहरु मध्ये श्री राष्ट्रिय आधारभूत विद्यालय धनगढी वडा नम्बर ५ उत्कृष्ट विद्यालय हुन सफल भएका छन् ।

२०८१ जेठ महिनादेखि तहगत रुपमा तीन वटा विद्यालयलाई उत्कृष्ट विद्यालय घोषणा गर्ने र उत्कृष्ट घोषणा भएका तीन वटै विद्यालयलाई सम्मानपत्र र १० हजार रुपैयाँ प्रोत्साहन उपलब्ध गराउन थालिएको छ ।

उपमहानगरपालिकाले २०८० चैत्र ८ गते ६८ वटा सामुदायिक विद्यालयहरुहरुसँग कार्यसम्पादन सम्झौता गरेको थियो । सामुदायिक विद्यालयहरुको शैक्षिक व्यवस्थापनमा सुधार गर्दै गुणस्तरीय शैक्षिक विकास गर्ने उद्देश्यले यस्तो सम्झौता गरिएको थियो । ११ वटा मुख्य सूचक र ७२ वटा सहायक सूचक तय गरिएको छ । ती सबै सूचकहरुको पूर्णाङ्क १०० कायम गरिएको छ ।

सूचकको आधारमा विद्यालयमा महिनाभरी भए गरेका गतिविधिलाई प्रधानाध्यापकहरुको बैठकका अवसरमा प्रस्तुतीकरण गर्ने काम हुँदै आएको छ । उक्त प्रस्तुतीकरणलाई तोकिएको मूल्याङ्कन समितिबाट मूल्याङ्कन गरेर मासिक रुपमा उत्कृष्ट विद्यालय घोषणा गर्ने गरिएको छ ।