धनगढी पोष्ट
बुधबार, ०२ साउन २०८१ मा प्रकाशित
काठमाडौं । चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई बस खसेर यात्रु बेपत्ता भएका घटनाको अध्ययन गर्न गृहमन्त्रालयद्वारा गठित कार्यदलले आफ्नो काम थालेको छ ।
गृहमन्त्री रमेश लेखकले पद बहालीका क्रममा उक्त घटना अध्ययन गरी प्रतिवेदन दिन मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेका थिए।
दश दिनको कार्यादेश दिइएको कार्यदलले आज घटनास्थल पुगेर अध्ययन थालेको कार्यदलका सदस्य नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए। उनका अनुसार अहिले घटनास्थलको अध्ययन भइरहेको छ ।
रिजाल संयोजक रहेको कार्यदलमा प्रहरी वरिष्ठ उपरीक्षक खत्रीसहित सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक शङ्कर खनाल, विपद् प्राधिकरणबाट सन्ध्या सिग्देल, यातायात व्यवसायी सरोज सिटौला र भौतिक पूर्वाधार मन्त्रालयका प्रतिनिधिका रूपमा प्रकाश भण्डारी छन्।
आवश्यक घटनास्थल अध्ययन, प्रत्यक्षदर्शी, बाँचेका व्यक्ति, उद्धार टोली, स्थानीय प्रशासनलगायतसँग छलफल गरेर प्रतिवेदन तयार पार्ने कार्यदलले जनाएको छ ।
कार्यदलले घटनाका कारण र आगामी दिनमा त्यस्ता घटना हुन नदिन अपनाउनुपर्ने उपायसम्बन्धमा सुझाव दिने तथा बसमा सवार यात्रुका परिवारलाई राहत उपलब्ध गराउने सन्दर्भमा पनि अध्ययन गर्नेछ ।
बसमा सवार ६५ जनामध्ये तीनजना बाँच्न सफल भएका थिए भने अरु सबै बेपत्ता भएका छन्। अहिलेसम्म १७ जनाको शव फेला परेको छ । अन्य यात्रुको अवस्था अज्ञात छ ।