धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

गेटा आँखा अस्पतालद्धारा बैतडीको मेलौलीमा  २७ औं आँखा उपचार केन्द्र सञ्चालन

गेटा आँखा अस्पतालद्धारा बैतडीको मेलौलीमा  २७ औं आँखा उपचार केन्द्र सञ्चालन

धनगढी । नेत्र ज्योति संघ गेटा आँखा अस्पतालले बैतडीको मेलौली नगरपालिकामा २७ औ आँखा उपचार केन्द्रको सँचालन गरेको  छ । 

आँखा उपचार केन्द्रमा अत्याधुनिक उपकरणहरुको प्रयोग गरि आँखा परिक्षण, औषधि उपचारर चश्मा उपलब्ध गराउनको साथै सामान्य शल्यक्रिया सेवा र समुदायमा आँखा उपचार तथा जनचेतना जगाउने कार्यक्रम समेत संचालन गरिने  गेटा आखा अस्पतालले जनाएको छ ।
 

आँखाको जटिल समस्या भएका बिरामीहरुलाई आँखा परिक्षण गरिने उपकरणमा नै जडित क्यामराको मदतले टेलिमेडिसिनको प्रयोग गरि गेटा आँखा अस्पतालका नेत्र विशेषज्ञबाट आँखा परिक्षण र आवश्यक परामर्श गरि उपचार सेवा समेत प्रदान गरिनुको साथै विद्यालयका विद्यार्थीहरुको आँखा परिक्षण गरि चश्माको आवस्यकता भएका विद्यार्थीहरुलाई निःशुल्क चश्मा समेत उपलब्ध गराईने  वाह्य कार्यक्रम व्यवस्थापक  रमेशचन्द्र भट्टले बताए ।
 

 सुदूरपश्चिम प्रदेशको सबै क्षेत्रमा आँखा उपचार सेवाको पहूँच विस्तार गर्ने कार्ययोजना अनुसार मेलौली नगरपालिकाको सहकार्य तथा सेभा फाउण्डेशनको सहयोगमा आखा उपचार केन्द्रको सँचालन गरिएको हो ।

सो उपचार केन्द्रबाट बैतडी जिल्लाको मेलौली नगरपालिका, शिवनाथर पंचेश्वर गाँउपालिकाका आँखाका रोगीहरुलाई नियमित आँखा उपचार सेवा प्रदान गर्ने लक्ष्य  रहेको छ ।

मेलौली नगरपालिकाका नगर प्रमुख भीम बहादुर चन्द र नेपाल नेत्रज्योति संघ केन्द्रीय सहकोषाध्यक्ष बिष्णुदत्त जोशीले संयुक्त रुपमा आँखा उपचार केन्द्रको उद्घाटन गरेका हुन् । 

सो अवसरमा नेपाल नेत्रज्योति संघ जिल्ला शाखा कैलालीका सभापति एवं गेटा आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकराज जोशी, सुदूर पश्चिम प्रदेश समितिका सदस्य सिद्धराज भट्ट, जिल्ला शाखा बैतडीका सभापति लक्ष्मीदत्त पाण्डेयले शुभकामना व्यक्त गरेका थिए ।

 गेटा आँखा अस्पतालका चीफ मेडिकल डाईरेक्टर डा.सुरेश राज पन्तले आँखा रोगको वर्तमान अवस्था र आँखा उपचार केन्द्रले प्रदान गर्ने सेवाको बिषयमा प्रकाश पारेका थिए । 
 

सुदुरपश्चिम प्रदेशमा अन्धोपन न्यूनीकरण गर्न तथा गुणस्तरीय आँखा उपचार सेवा पुर्याउन गेटा आँखा अस्पतालले अस्पताल तथा यस अन्तरगत प्रदेशका ९ वटै जिल्लामा संचालित २७ वटा शाखाहरुबाट नियमित उपचार सेवा प्रदान गर्नको अतिरिक्त विभिन्न सरकारी तथा गैर सरकारी सामाजिक संस्थाहरुबाट सहयोग जुटाई आँखा उपचार सेवाको पहूँच बढाउन आँखा शिविर मार्फत समेत सेवा प्रवाह गरि रहेको छ ।