धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

डेंगु संक्रमित १६ सय ५७ पुगे

डेंगु संक्रमित  १६ सय ५७ पुगे

काठमाडौँ । लगातार पानी पर्न थालेसँगै डेंगु संक्रमण पनि बढ्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशभर डेंगु संक्रमितको संख्या एक हजार ६५७ पुगेको छ ।

डेंगु संक्रमण मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा फैलिइसकेको महाशाखाले जनाएको छ ।

यस वर्ष सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएकाले मनसुनको समयमा लामखुट्टेको प्रजनन अवस्था अनुकूल बन्न सक्ने र डेंगुको संक्रमण पनि बढ्न सक्ने चिकित्सकहरूले जनाएका छन् । 

हालसम्म सबैभन्दा बढी काठमाडौंमा १९६ जनामा डेंगु देखिएको छ । झापामा १२८, चितवनमा ९२ र मकवानपुरमा ७३ जनामा संक्रमण देखिएको हो । गत वर्षको तुलनामा भने यो वर्ष संक्रमणदर कम देखिएको छ ।

महाशाखाको तथ्यांकअनुसार गत वर्षको जुनमा एक हजार ३२ जनामा संक्रमण देखिएकोमा यो वर्ष जम्मा ३२२ जनामा देखिएको हो ।

गत वर्ष जुलाईमा ६ हजार ४५९ जनामा संक्रमण देखिएकोमा यस वर्ष जुलाईको तेस्रो साता बितिसक्दासम्म २४३ जनामा मात्र संक्रमण देखिएको हो ।

यद्यपि, संक्रमणको समय अझै बाँकी रहेकाले लामखुट्टेबाट बच्न आफ्नो घरवरिपरि तथा कार्यस्थलमा सफा पानी जमेका ठाउँ सफा राख्न महाशाखाले अनुरोध गरेको छ ।

यस्तै, लामखुट्टेले फुल पार्न सक्ने ठाउँमा पानी जम्न नदिने, घरको झ्यालढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, जुनसुकै वेला झुलको प्रयोग गर्ने र पूरै शरीर छोपिने लुगा लगाउनेजस्ता सुरक्षाका उपाय अपनाउन अपिल गरिएको छ ।