धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

अध्यादेश ल्याउन रोकिएपछि अधिवशनमा सरकार सहभागी नहुने

अध्यादेश ल्याउन रोकिएपछि अधिवशनमा सरकार सहभागी नहुने

धनगढी । बजेट अध्यादेश ल्याउन नपाउने भएपछि मंगलबार शुरु हुन लागेको सुदूरपश्चिम प्रदेश सभाको बिशेष अधिवेशनमा सुदुरपश्चिम सरकार सहभागी नहुने भएको छ ।

बिशेष अधिवेशनबारे आफुहरुलाई थाहा नभएको भन्दै सरकार सहभागी हुनबाट पन्छिन लागेको छ । नेपाली कांग्रेस र नेकपा एमालेले माग गरेपछि सुदुरपश्चिम प्रदेश प्रमुखले साउन ८ गते प्रदेशसभाको बिशेष अधिवेशन आवहान गरेका हुन् । 

सरकारका प्रवक्ता समेत रहेका जलस्रोत तथा शहरी विकास मन्त्री अक्कलबहादुर  रावल भन्छन् ‘आवश्यकता र औचित्य नखुलाएर आह्वान गरिएको बैठकमा सरकारको कुनै पनि सहभागिता रहदैन ।’  

बजेट अधिवेशन अन्त्य गरेर प्रदेश सरकारले अध्यादेश मार्फत बजेट ल्याउने तयारी गरेपछि कांग्रेस र  एमालेका २५ जना सांसदहरुले साउन ४ गते  बिशेष अधिवेशनको माग गरेका हुन् । प्रदेश सभा सदस्यहरुको मागका आधारमा प्रदेश प्रमुखले अधिवेशन आव्हान गरेका हुन् । 

यसअघि सुदुरपश्चिम प्रदेश सरकारले प्रदेश प्रमुखलाई असार ३० गतेदेखि लागु हुने गरी बजेट अधिवेशन अन्त्यका लागि पत्राचार गरेको थियो । तर प्रदेश प्रमुख नजिर मियाँले साउन ३ गते अधिवेशन अन्त्य गरेका थिए । 

सरकारका प्रवक्ता समेत रहेका जलस्रोत तथा शहरी विकास मन्त्री रावलले भने, ‘संसद कुन कारणले बोलाइएको हो भन्ने कुराको औचित्य पुष्टी विना प्रदेश प्रमुख ज्यू ले विशेष अधिवेशनको आह्वान गर्नु भएको छ । 

त्यो भनेको प्रदेश सरकारले ल्याउन थालेको अध्यादेश मार्फत जुन बजेट थियो । त्यसलाई छल्ने बाहेक अरु केही पनि उदेश्य छैन । त्यसमा उदेश्य पनि उल्लेख भएको छैन । सरकारले त्यसमा सहभागिता पनि जनाउदैन । ’ 
प्रदेश सभाको नियमावली भित्र बैठकमा सरकारको उपस्थिती अनिबार्य भनिएको छ । यदि बैठकमा सरकारको उपस्थिती नभएको खण्डमा सो दिनको बैठक अन्त्य हुने नियमावालीमा रहेको छ । 

सत्तापक्ष एकिकृत समाजवादीका उपनेता प्रकाश रावलले विशेष अधिवेशनमा आफूहरुको सहभागिता नरहने बताए । बैठकमा आफूहरु सहभागि भए पनि सरकारको सहभागी नहुँदा बैठकको औचित्य नरहने उनले बताए । 

नेपाली कांँग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले विशेष अधिवेशनमा आप्mुहरुको सहभागिता रहने बताए । बैठकमा मुख्यमन्त्रीको राजिनामा माग्ने र नयाँ सरकार गठनका लाई मार्गप्रशस्तका लागि आग्रह गर्न उनले बताए । सुदूरपश्चिम प्रदेश बजेट शून्यतामा रहेकाले गर्दा आप्mहरुले विशेष अधिवेशन आह्वानको माग गर्नु परेको उनले बताए । 

प्रदेश सभा सचिवालयले साउन ८ गते दिउँसो २ बजे बस्ने गरी प्रदेश सभाको अधिवेशन बोलाएको छ । प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले मंगलबार बस्ने बैठकमा प्रदेश प्रमुखले पठाएको पत्रलाई प्रदेश सभामा पढेर सुनाउने बताए । प्रदेश सभामा पत्र पढेर सुनाएपछि अनिश्चित कालका लागि बैठक स्थगित हुने उनले बताए । 

मुख्यमन्त्री दिर्घ बहादुर सोडारीको सरकारले असार १ गते आर्थिक वर्ष २०८१÷०८२ का लागि बजेट ल्याएको थियो । सोडारीको सरकारलाई समर्थन गरेको नेकपा एमाले सरकारबाट बाहिरिएपछि बजेट पास हुन सकेको थिएन ।

नेकपा एमाले सरकारबाट बाहिरिएपछि अल्पमतमा परेको मुख्यमन्त्री सोडारीको सरकारले अध्यादेश मार्फत बजेट ल्याउने तयारी गरेका थिए  । तर प्रदेश प्रमुखले विशेष अधिवेशनको आह्वान गरेपछि मुख्यमन्त्री सोडारीको सरकारले ल्याउन खोजेको अध्यादेश मार्फतको बजेटमा पनि बे्रक लागेको छ ।