धनगढी पोष्ट
मङ्गलबार, ०८ साउन २०८१ मा प्रकाशित
धनगढी । सुदूरपश्चिमका पुर्व मुख्यमन्त्री एवम नेपाली कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाहले सरकारले अध्यादेशबाट बजेट ल्याउनका लागि चालु अधिवेशन अन्त्य गरेर असंवैधानिक कार्य गरेकाले विशेष अधिवेशन माग गरेको बताएका छन् ।
‘प्रदेश बजेट शून्यताको अवस्थामा छ । सरकार अल्पमतमा छ । उसले विश्वासको मत पाउदैन भन्ने कुरा पनि थाहा छ, तर राजनीतिक नैतिकता देखिएन,’ उनले भने ।
सदन बन्द रहेको अवस्थामा अध्यादेश ल्याउन पाउने भए पनि सदन बन्द गरेर अध्यादेश ल्याउने प्रयास असंवैधानिक कदम भएको उनले बताए ।
‘मुख्यमन्त्री सोडारीले सदन अन्त्य गरेर अध्यादेश ल्याउने प्रयास गरे, उनले राजनीनिक नैतिकता प्रदर्शन गर्न सकेनन्, त्यसैले अध्यादेश रोक्नका लागि पनि विषेश अधिवेशन आवश्यक प¥यो,’ उनले भने ।
बजेट वर्षे अधिवेशन चालू रहँदारहँदै बजेटमाथिको छलफल र वैधानिक विकल्पहरुको खोजी समेत नगरी काम चलाउ सरकारले प्रदेश बजेट शून्यताको अवस्था पुगाएको पुर्व मुखयमन्त्री शाहले मंगलबार नै जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
काँग्रेसले प्रदेशमा बजेट शून्यताका कारण सिंगो अर्थतन्त्रमाथि नै गम्भीर असर परिरहेको ठहर गरेको छ ।
‘प्रदेश सरकारका मन्त्रालय र मातहतका निकायहरुले राजश्व संकलन गर्ने र खर्च गर्ने कार्यमा समेत अवरोध भई प्रदेशको समग्र आर्थिक प्रणाली नै तहसनहस हुने अवस्था वर्तमान सरकारले गरेको छ’ विज्ञप्तीमा अगाडि भनिएको छ ।
काँग्रेसले प्रदेशमा परेको अबिरल बर्षाका कारण आएको बाढी, पहिरो, चट्याङ, डुवान र नदि कटानले गर्दा ठुलो जनधनको क्षति भएको प्रती गहिरो दुख ब्यक्त गरेको छ ।
काँग्रेसले अल्पमतमा रहेको कामचलाउ प्रदेश सरकारका मुख्यमन्त्री दिर्घबहादुर सोडारीलाई पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्न माग पनि गरेको छ ।