धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

संविधानले दिएको अधिकार कार्यान्वयनमा समस्या

संविधानले दिएको अधिकार कार्यान्वयनमा समस्या

धनगढी । दलित तथा सीमान्तकृत महिलाका सवालमा सञ्चारर्मीहरुसंग धनगढीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

दलित महिला संघ (फेडो) ले शुक्रबार गरेको कार्यक्रममा दलितका सवालमा कलम चलाउन सञ्चारकर्मीहरुलाई आग्रह गरेको हो ।

संविधानले दिएको अधिकार पनि स्थानीय र प्रदेश सरकारले कार्यान्वयन नगरेको भन्दै फेडो सुदूरपश्चिम प्रदेश अध्यक्ष अम्बिका  ताम्राकारले यसतर्फ सरोकारवाला सबैको ध्यानजान आवश्यक रहेको बताइन् ।

स्थानीय तहले दलितका पक्षमा कार्यक्रमहरु हाल्न हिचकिचाउने गरेको उनको भनाई रहेको छ । त्यसले गर्दा मिडियामा आएका कुराले राज्यको ध्याकर्षण हुने हुँदा सबैले यसमा सहयोग गर्न उनले आग्रह गरिन ।

कार्यक्रममा फेडो कैलालीका कार्यक्रम संयोजक विनोदकुमार घिमिरेले देशमै सुदूरपश्चिम प्रदेश दलितको संख्या पाचौँमा पर्ने भए पनि त्यो अनुसारको सरकारले बजेट विनियोजन गर्न नसकेको बताए ।

फेडोले अहिलेसम्म क्षमता अभिबृद्धि गर्ने, अगुवा महिला उत्पादन गर्ने र समावेशी नीति बनाउनुमा दववा दिने लगायतका काम गरेको उनले जानकारी दिए ।

दलितका पक्षमा नीति बने पनि त्यो अनुसारको काम हुन नसकेको उनको दुखेसो छ । दलितका मुद्धामा पहिलेको तुलनामा सुधार भए पनि अझै नीति, योजना कार्यक्रममा अर्थपूर्ण सहभागिता हुन नसकेको उनले बताए ।

सामाजिक भेद्भाव कम भए पनि राज्य जिम्मेवार बन्न नसकेको उनको भनाई छ । सबै भन्दा नजिकको सरकार स्थानीय तहले दलित समुदायको सवालहरु सम्बोधन गर्नुपर्ने उनको धारणा रहेको थियो । 
 

कार्यक्रममा नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमालय जोशीले सञ्चार माध्यामले दलितका सवालमा कलम चलाउँदै आएको बताए ।

पत्रकारहरुको धर्म नै पछाडी परेको र पारिएका समुदायको आवाज उठान गर्ने भएको हुँदा त्यो अनुसार नै सञ्चार माध्याम लागेको अध्यक्ष जोशीले बताए ।

कार्यक्रममा कैलालीका विभिन्न सञ्चार माध्याममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।