धनगढी पोष्ट
शनिबार, १२ साउन २०८१ मा प्रकाशित
धनगढी । कैलालीको धनगढीस्थित नोभा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका युवकको शव दुई दिनदेखि अस्पतालमै रहेको छ।
कञ्चनपुरको बेलौरी नगरपालिका–२ का १७ वर्षीय नसिभ चौधरीको शव आफन्तले उपचारमा संलग्न चिकित्सकलाई कारबाही र पीडित परिवारलाई क्षतिपुर्ति नदिएसम्म शव नउठाउने अडान लिएपछि दुई दिनदेखि शव नोभा अस्पतालको आईसीयु कक्षमा राखिएको छ।
पीडितका आफन्त र अस्पताल प्रशासनबिच शनिबार पटक–पटक छलफल र वार्ता भएपनि सहमति हुन सकेको छैन। जन्डीसको बिरामी भएर साउन ७ गते नोभा हस्पिटलमा भर्ना भएका नसिभ चौधरीको शुक्रबार अपरान्ह मृत्यु भएको थियो।
मृतकका आफन्तले उपचारमा संलग्न फिजिसियन डाक्टर रामचन्द्र पौडेलले लापरबाही गरेकाले उनीमाथि कारबाहीको माग गरेका छन्।
अस्पतालका सूचना अधिकारी पदमराज भट्टले भने अस्पतालले उपचारमा कुनै लापरबाही नगरेको बताउँदै आएका छन्।