धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

मुख्यमन्त्री सोडारीले संसद् छलेको सत्ता पक्षकै आरोप

मुख्यमन्त्री सोडारीले संसद् छलेको सत्ता पक्षकै आरोप

धनगढी । सत्ता पक्षकै नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य शिवसिंह ओलीले मुख्यमन्त्री दीर्घबहादुर सोडारीले संसद छलेको आरोप लगाएका छन् । आइतबार बसेको प्रदेशसभाको विशेष अधिवेशनको दोस्रो बैठकमा बोल्दै प्रदेश सभा सदस्य ओलीले सरकारले संसद् छलिरहेको बताएका हुन् ।

सांसद ओलीले भने, ‘सरकार के का लागि ? सत्ता के का लागि ? यहाँ सयौँको सङ्ख्यामा नागरिकहरू बाढी र पहिरोबाट प्रभावित छन् । धनजनको क्षति भएको छ । सुदूरपश्चिममा मैले भन्नै पर्छ, सुदूरपश्चिमको अवस्थाबारे सरकारले सार्वजनिक गर्नु पथ्र्यो । तर मलाई अचम्म लागिरहेको छ, किन यहाँका मुख्यमन्त्री, मन्त्रीहरू संसद छलिरहेका छन् ? जनताप्रति उत्तरदायी सरकार हुनुपर्छ भन्ने तर प्रदेश सभाप्रति उत्तरदायी नहुने सरकारलाई जनताप्रति उत्तरदायी छ भन्न सकिन्छ ?

त्यस्तै, सांसद ओलीले अल्पमतको सरकारले कि त चाँडै विश्वासको मत लिनुपर्ने कि त मार्ग प्रशस्त गर्नुपर्ने बताए ।

सरकारका मन्त्रीहरू सहभागी नरहेको बैठकमा नेपाली कांग्रेसका विक्रमसिंह धामी, एमालेका राजेन्द्र सिंह रावल, नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी छलफलमा सहभागी भएका थिए ।